पर्वत, ४ चैतः पर्वतमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म हुने गणनाका लागि सदरमुकाम कुश्माको बडागाउँमा रहेको साविक सामाजिक विकास कार्यालयको भवनमा कार्यालय स्थापना गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक लक्ष्मीप्रसाद पौडेलले कार्यालयको उद्घाटन गर्नुभएको छ । कार्यालयमार्फत चैत महिनाभर गणनाको आवश्यक तयारी गरिने छ । पर्वत जिल्लामा आर्थिक गणनाका लागि १७ जना गणक र ३ जना सुपरीवेक्षक खटाईने भएएको छ ।
भने कार्यालयमा व्यवस्थापनका लागि पाँच जना कर्मचारी रहने आर्थिक गणना अधिकारी ऋषिराम पौडेलले जानकारी दिनुभयो । चैत मसान्तसम्म गणकको नियुक्ति, गणकहरूलाई तालिम प्रदान र पालिका तहमा सरोकारवालाबीच छलफल सकेर गणना सुरु गरिने आर्थिक गणना अधिकारी पौडेलले बताउनुभयो । जिल्लामा आर्थिक गणना सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति गठन गरिएको छ ।
पालिका तहमा स्थानीय तह समन्वय समिति र वडास्तरमा वडास्तरीय सहजीकरण समिति पनि गठन गरिने उहाँले बताउनुभयो । ‘समग्र अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित चालु आर्थिक वर्षभित्र सम्पन्न हुने गरी देशैभर दोस्रो पटक आर्थिक गणना गर्न लागिएको हो । विसं २०७५ को वैशाखमा पहिलो पटक आर्थिक गणना भएको थियो ।
यस गणनाका दौरानमा पर्वत जिल्लाका १८ वटा आर्थिक क्षेत्रका आधारभूत विवरण सङ्कलन गरिने भएको छ । जसमा देशैभर रहेका दर्ता भए, नभएका ठुला साना, व्यापारिक प्रतिष्ठान, उद्योग, कलकारखाना, होटललगायत रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिने गणना अधिकारी पौडेलले बताउनुभयो ।