बुएनोस आयर्स, ४ चैत: अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ । परराष्ट्रमन्त्री पाब्लो क्विर्नोले मङ्गलबार सामाजिक सञ्जालमा जानकारी दिनुभएको छ ।
उहाँका अनुसार यो निर्णय १७ मार्च सन् २०२५मा संयुक्त राष्ट्र सङ्घको महासचिवलाई पठाइएको पत्रमार्फत जानकारी गराइएको थियो । भियना सन्धि अनुसार नोटिफिकेसनको एक वर्षपछि यो फिर्ता औपचारिक रूपमा लागू भएको हो ।
क्विर्नोले भन्नुभयो,“हाम्रो देश स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई द्विपक्षीय सम्झौता र क्षेत्रीय फोरममार्फत अघि बढाउने छ, तर स्वास्थ्य नीतिहरू निर्धारण गर्ने हाम्रो सार्वभौमिक अधिकार र स्वतन्त्रता पूर्ण रूपमा सुरक्षित रहनेछ ।”
अर्जेन्टिनाली सरकारले सन् २०२५ मार्चमा यो निर्णय घोषणा गरेको थियो । राष्ट्रपतिका प्रवक्ताले त्यतिबेला जानकारी दिँदै भन्नुभयो,“ राष्ट्रपति हवियर मिलेइले परराष्ट्रमन्त्रीलाई यस अन्तर्राष्ट्रिय निकायबाट देशको सहभागिता फिर्ता लिन निर्देशन दिनुभएको छ ।”
“यो निर्णयले देशलाई आवश्यक सन्दर्भ अनुसार नीति निर्माण गर्न लचिलोपन दिनेछ, स्रोतको उपलब्धता बढाउनेछ र स्वास्थ्य सम्बन्धी मामिलामा सार्वभौमिकता सुनिश्चित गर्ने हाम्रो मार्गलाई पुष्टी गर्नेछ ।”