चैत ४, २०८२ बुधबार

तेहरान, ४चैत : गत महिनाको अन्त्यमा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा सयुक्त आक्रमण सुरु गरे देखि इरानमा ४६ हजार भन्दा बढी नागरिक संरचना तथा एकाइहरू प्रभावित भएको जनाइएको छ । 

प्रभावित मध्ये करिब ३९ हजार आवासीय संरचना रहेको अन्तर्राष्ट्रिय मामिलाका लागि इरानी रेड क्रिसेन्ट सोसाइटी (आइआरसीएस) का निर्देशक राजीह अलिसावन्दीलाई उदृत गर्दै सिन्हुवाले जनाएको छ ।

उहाँले निरन्तरको आक्रमण प्रति खेद व्यक्त गर्दै छ हजार ८५१ वटा व्यापारिक एकाइहरू पनि क्षतिग्रस्त भएको बताउनु भएको छ ।

 आक्रमणले लगभग २३६ वटा स्वास्थ्य केन्द्रहरु र १२० वटा विद्यालय तथा शैक्षिक संस्थाहरूमा पनि असर परेको जनाइएको छ ।

आक्रमणमा १७ वटा आइआरसीएस केन्द्रहरू क्षतिग्रस्त हुनुका साथै एउटा उद्धार हेलिकप्टर नष्ट भएको उहाँले बताउनु भएको छ ।

 अक्रमणमा आइआरसीएसका दश जना कर्मचारी घाइते भएको र एक जनाको मृत्यु भएको अलीसावन्दीले बताउनु भएको छ ।  शैक्षिक केन्द्रमा भएको आक्रमणमा २०६ जनाको मृत्यु  हुनुका साथै १५४ जना घाइते भएको जनाइएको छ । स्वास्थ्य क्षेत्रमा भएको आक्रमणर्मा  १६ जनाको मृत्यु हुनुका साथै अन्य ९६ जना घाइते भएको बताइएको छ ।

आइआरसीएसले अमेरिका र इजरायलले अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन गरेको प्रमाण रेकर्ड गरिरहेको उल्लेख गर्दै सशस्त्र द्वन्द्वमा बालबालिका, विद्यार्थी र वृद्धवृद्वा जस्ता व्यक्तिहरूमाथि प्रहार गर्नु नहुने उहाँले बताउनु भएको छ  ।

उहाँले क्यान्सर लगायत दुर्लभ रोगबाट पीडितहरूका लागि औषधि अत्यावश्यक रहेको भन्दै  अन्तर्राष्ट्रिय मानवीय सहायताका लागि केन्द्र तयार रहेका बताउनु भएको छ ।

उहाँले आइआरसीएस फार्मेसीहरू चौबिसै घण्टा सञ्चालनमा रहेको जनाउदै अहिलेसम्म कुनै पनि बिरामीहरू स्वास्थ्य सेवा र औषधिबाट वञ्चित नभएको उल्लेख गर्नु भएको छ ।

फेब्रुअरी – २८ मा, इजरायल र संयुक्त राज्य अमेरिकाले तेहरान र अन्य धेरै इरानी शहरहरूमा संयुक्त आक्रमणहरू गर्दा सर्वोच्च नेता अली खमेनी, उच्च पदस्थ सैन्य कमान्डरहरू र नागरिकहरू मारिए भने इरानले इजरायल र मध्य पूर्वमा अमेरिकी सम्पत्ति र आधारहरूलाई लक्षित गर्दै आक्रमणको प्रतिक्रिया दिएको छ ।