मध्यपूर्वमा चर्किँदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको सङ्केतका रूपमा कुर्दिस्तान क्षेत्रको राजधानी इरबिलमा बुधबार कम्तीमा चारवटा विस्फोटको आवाज सुनिएको छ । घटनाले क्षेत्रीय सुरक्षाप्रति चिन्ता थप बढाएको छ ।
एएफपीका पत्रकारहरूका अनुसार सहरका विभिन्न भागबाट विस्फोटको आवाज सुनिएको हो, तर आक्रमणको लक्ष्य के थियो भन्ने तत्काल स्पष्ट हुन सकेको छैन । इरबिलको उपनगरबाट हेर्दा सहरमाथि प्रक्षेप्यहरू रोकिँदै गरेको दृश्य देखिएको जनाइएको छ । सोही क्षेत्रमा प्रमुख अमेरिकी वाणिज्य दूतावास परिसर रहेको छ भने विमानस्थलमा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनका सैनिकहरू तैनाथ छन् ।
इराक लामो समयदेखि अमेरिका र इरानबीचको अप्रत्यक्ष द्वन्द्वको केन्द्र रहँदै आएको छ र हालको मध्यपूर्व युद्धले यसलाई थप संवेदनशील बनाएको देखिन्छ । पछिल्ला आक्रमणहरू इरान समर्थित समूहहरूलाई लक्षित गर्दै गरिएको बताइन्छ, जसले इराकसहित क्षेत्रभर अमेरिकी हितविरुद्ध लगातार आक्रमणको दाबी गर्दै आएका छन् ।
युद्ध सुरु भएयता इरबिलमा सुरक्षा सतर्कता बढाइएको छ । गठबन्धनको हवाई प्रतिरक्षा प्रणालीले पटक–पटक ड्रोन खसालेको बताइएको छ । पछिल्ला केही दिनदेखि सहरमा दैनिकजसो विस्फोटका आवाज सुनिन थालेका छन्, यद्यपि प्रायः साँझपख यस्ता घटनाहरू हुने गरेका छन् ।
मङ्गलबार राति शक्तिशाली इरान समर्थित सशस्त्र समूह कातेब हिजबुल्लाहले इराकमा अमेरिकी उपस्थितिको कडा विरोध गर्दै सबै विदेशी सैनिकलाई देश छोड्न माग गरेको थियो । वासिङ्टनद्वारा आतङ्कवादी सङ्गठन घोषित उक्त समूह ‘इस्लामिक प्रतिरोध’ नामक छाता सङ्गठनअन्तर्गत सक्रिय छ, जसले इराक र व्यापक क्षेत्रमा अमेरिकी हितविरुद्ध नियमित आक्रमणको दाबी गर्दै आएको छ ।