चैत ४, २०८२ बुधबार

काठमाडौँ, ४ चैत : काठमाडौँको तारकेश्वर नगरपालिकामा पहिलोपटक ‘प्रथम तारकेश्वर घोडेजात्रा महोत्सव’ मनाइएको छ ।

    तारकेश्वर नगरपालिकाको आयोजना तथा एभरेष्ट हर्स राइडिङ एण्ड बग्गी प्रालिको सहकार्यमा घोडेजात्रा पर्वको अवसर पारेर आज तारकेश्वर नगरपालिका–८ पीपलडाँडा टुसालचौरमा पहिलोपटक घोडेजात्रा महोत्सव मनाइएको हो ।

    महोत्सवको उद्घाटनमा तारकेश्वरका नगरप्रमुख कृष्णहरि महर्जनले धर्म, संस्कृति, परम्परा र स्थानीय इतिहासको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यका स्थानीय तहले पहिलोपटक घोडेजात्रा महोत्सव आयोजना गरेको बताउनुभयो । 

    देशभरका ७५३ वटा स्थानीय तहमध्ये तारकेश्वरले पहिलोपटक घोडेजात्रा पर्वका अवसरमा घोडेजात्रा महोत्सव गरेको उहाँको भनाइ थियो ।

    ‘पहिचान, अपनत्व र अधिकार : दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ उक्त महोत्सव आयोजना गरिएको हो । महोत्सवमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, नगरवासीहरुको सहभागिता थियो ।

    टुँडिखेलमा मनाइँदै आइएको घोडेजात्रालाई थप विस्तार गर्नका लागि तारकेश्वरले पहिलोपटक स्थानीय तहमा घोडेजात्रा महोत्सव आयोजना गरेको हो । घोडेजात्रा महोत्सवमा घोडाहरुको मार्च पास, हर्स जम्प, सांस्कृतिक कार्यक्रमलगायत गरिएको थियो । 
---