इटहरी (सुनसरी), ५ चैतः कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले यही चैत ७ गते ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ आयोजना हुने भएको छ । नयन मिडिया फाउन्डेसनको आयोजनामा हुने कार्यक्रम दिउँसो ३ः०० बजेदेखि सुरु हुनेछ ।
आयोजक संस्थाका प्रमुख कार्यकारी निर्देशक माधव सुवेदीका अनुसार यस वर्षको अवार्ड समारोहमा १६ विभिन्न विधामा उत्कृष्ट योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गरिनेछ ।
कृषि, बैंकिङ तथा वित्तीय सेवा, व्यावसायिक नेतृत्व, शिक्षा, स्वास्थ्य, साहित्य, पत्रकारिता, सामाजिक काम, खेलकुद, नवप्रवर्तन, प्रविधि, पर्यटन तथा आतिथ्य, अटोमोबाइल, सङ्गीत तथा पुँजीबजारलगायत क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्व तथा संस्थालाई अवार्ड प्रदान गरिनेछ ।
कार्यक्रममा करिब ५०० भन्दाबढी सहभागी उपस्थित हुने अपेक्षा गरिएको छ । कार्यक्रममा विभिन्न सङ्घसंस्थामार्फत विशेष योगदान पु¥याएका कोशी प्रदेशका व्यक्ति तथा संस्थालाई विशेष सम्मान गरिने जनाइएको छ ।
फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले कार्यक्रमको झण्डै ८० प्रतिशत तयारी पूरा भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न सरकारी तथा निजी संस्थासँग सहकार्य गर्दै कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन काम भइरहेको छ ।