चैत ६, २०८२ शुक्रबार

ब्रसेल्स(बेल्जियम), ६चैत  : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इजरायललाई कडा चेतावनी दिँदै मध्यपूर्वमा व्याप्त द्वन्द्वको तुरुन्तै अन्त्य गर्न आग्रह गर्नु भएको छ ।

सामाजिक सञ्जाल एक्समा गुटेरेसले सन्देश प्रवाह गर्दै संयुक्त राज्य अमेरिका र इजरायललाई यो युद्ध अन्त्य गर्ने उत्तम समय भएको बताउनु भएको छ । जुन नियन्त्रणबाट बाहिर निस्कने जोखिम उठाउँदै छ । युद्वले विश्वव्यापी अर्थतन्त्रमा नकरात्मक प्रभाव पार्दै  कम विकसित देशहरूका लागि दुखद परिणाम निम्त्याइरहेको उहाँले बताउनु भएको छ ।

यसै गरी इरानलाई आफ्ना छिमेकीहरू माथिको आक्रमण गर्न बन्द गर्न आह्वान गर्दै, तिनीहरू कहिल्यै द्वन्द्वमा सहभागी नभएको उहाँले बताउनु भएको छ । सुरक्षा परिषद्ले यी आक्रमणहरूको निन्दा गर्दै तत्काल रोक्न आदेश दिएको छ ।  होर्मुजको जलमार्ग लामो समयसम्म बन्द हुँदा संसारभरका मानिसहरूका लागि ठूलो पीडा हुने बताउदै परिषद्ले यसको द्वन्द्वसँग कुनै सम्बन्ध नरहेको जनाउदै स्ट्रेट अफ होर्मुज खोल्ने आदेश दिएको छ । परिषदले कानूनले बलमाथि प्रभुत्व जमाउने समय भएको जनाउदै यसले यो युद्धमाथि कुटनीतिको विजय हुने समय भएको जनाएको छ ।

गुटेरेसको टिप्पणी हालै क्षेत्रीय पूर्वाधारलाई लक्षित गरी इरानी आक्रमणको प्रतिक्रियामा आएको छ । जसले मध्य पूर्वमा तनाव बढाउनुका साथै विश्वव्यापी ऊर्जा आपूर्तिमा चिन्ता बढाएको छ । 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि तत्काल द्वन्द्व समाधानको आवश्यकतामा जोड दिदै  सामाजिक सञ्जाल एक्समा मध्यपूर्वमा स्थिरता पुनस्र्थापना गर्न ठोस शान्ति योजना ल्याउनु  पर्ने बताउनु भएको छ ।
  यसैबीच बेलायती प्रधानमन्त्री कीर स्टारमरले कतारी ग्यास सुविधामा भएको इरानी आक्रमणको निन्दा गर्नु भएको छ । 

विश्वव्यापी रुपमा नेताहरूको द्वन्द्वलाई अझ बढ्नबाट रोक्न र व्यापक मानवीय र आर्थिक सङ्कटहरू सिर्जना नगर्न र संयम भई स्वतन्त्रताको पुनस्र्थापना र तत्काल कूटनीतिक तथा ठोस शान्ति प्रक्रिको आह्वानको लागि अनुरोध गरेका छन् ।