चैत ७, २०८२ शनिबार

काठमाडौँ, ७ चैत : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा ‘सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गरोस्’  भनी कामना गर्नु भएको छ । 
 
    इस्लाम धर्मावलम्बीहरूको पर्व ‘ईद उल फित्र’ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “यस पर्वले हाम्रो राष्ट्रिय जीवनमा एकता, सद्भाव र सहअस्तित्वको सुगन्ध फैलाउँदै सबै नेपालीलाई साझा यात्रामा अघि बढ्न प्रेरित गरोस् भन्ने विश्वास व्यक्त गर्दै पुनः हार्दिक शुभकामना छ ।”
 
    ईद–उल–फित्रले हाम्रो राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यवद्धतालाई अझ सबल बनाउने अवसर प्रदान गर्ने उल्लेख गर्दै  उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन, सामाजिक न्याय र समान अवसरलाई सुनिश्चित गर्न, राष्ट्रिय अखण्डता र पहिचानलाई बलियो बनाउन, विविधता र सहअस्तित्वलाई स्थायी शान्ति र समृद्धिको आधार बनाउन यस पर्वले हामी सबैलाई सहयोग पुग्ने विश्वास उहाँले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।   रोजाको अनुशासन, आत्मसंयम र श्रद्धापूर्वक गरिएको नमाजको साधनापछि मनाइने ईद पर्व आत्मिक शुद्धता र आध्यात्मिक उन्नतिको प्रतीक हो । यस पर्वले मानिसलाई संयम, धैर्य र आत्मनियन्त्रणको पाठ सिकाउँदछ ।