काभ्रेपलाञ्चोक, ७ चैतः अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको बहाव बढेपछि आज बिहानदेखि बिपी राजमार्ग अवरुद्ध भएको छ ।
उक्त क्षेत्रमा गतसाल बाढीपहिरोले राजमार्ग क्षतिग्रस्त बनाएपछि खोलामै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो । आज बिहान ३ः३० बजे रोशी गाउँपालिकाको चारसयबेँसी, गिम्दी, बाउन्ने र कालढुङ्गामा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख शुनिल धाँजूले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि खोलाबाटै सडक सञ्चालनमा ल्याइएकाले पानीको बहाव घटेपछि मात्रै सडकलाई सञ्चालनमा ल्याउन सकिने देखिएको छ ।
यद्यपि, सडक विभागमार्फत सुरक्षाकर्मीको समन्वयमा सडक खुलाउने प्रयास भने सुरु गरिएको उहाँको भनाइ छ ।
यसैबीच वर्षाका कारण बिपी राजमार्गको रोशी क्षेत्रको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले आज बिहानैदेखि सवारी साधन ‘होल्ड’ गरेको छ । उक्त राजमार्गअन्तर्गत प्रवेशमार्गस्थल धुलिखेलको काभ्रेभञ्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मङ्गलटारमा सवारीसाधन होल्ड गराइएको धाँजूले बताउनुभयो ।