काठमाडौँ, ७ चैतः शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा बेग्लै खालको हतारो देखिन्थ्यो । कैयौँ पाँचतारेलगायतका ठूला होटलमा वर्षौं काम गरेका वरिष्ठ सेफहरू कोही दाउरा काट्दै त कोही ढुङ्गाको चुलो बनाएर आगो सल्काउँदै थिए । कतिले तामाको ताउलो पखाल्दै थिए भने केहीले गिठा र तरुल काट्दै थिए । पर पानीको धारामा साग केलाएर पखाल्न केही व्यस्त देखिन्थे ।
तर, होटलहरूमा पाहुनाको मागअनुसार अनेक खानाका परिकार बनाउने गरेका ती सेफहरूले आज भने धेरैथरि परिकार नभएर ‘बानभात’ पकाउँदै थिए । त्यसैले केहीले सिलौटोमा धम्मरधुस लाएर जिरा धनियाँ पिस्दै थिए भने कतिले रैथाने खानाको स्वाद निकाल्न थेपे तयार पार्न मूला थिच्दै थिए । यता वनभात खान आएकालाई स्वागत पेयका रूपमा मही बाँड्ने र टीका लगाइदिने काममा पनि कोही खटेका थिए ।
वनभातअर्थात् वनभोज पाक्दै थियो काठमाडौँको तारकेश्वर नगरपालिका–३ स्थित बारीको पाटामा । वरिष्ठ सेफ गोविन्दनरसिंह केसीका अनुसार यो वनभोज भन्ने प्रचलन धेरै पछि आएको हो रे । उहाँ भन्नुहुन्छ, “सुरुमा यसलाई वनभात नै भनिन्थ्यो । वर्ष दिनमा कम्तीमा एकदिन बाहिर खानुपर्छ भन्ने धेरै पहिलेको परम्परा अनुसार बाली थन्क्याएपछि प्रायः मङ्सिर पुस महिनामा बारीको पाटामा या खेतका गरामा भात पकाएर खाने गाउँले चलन थियो । त्यसैबाट वनभोज हुँदै अहिले सहरिया जीवनमा प्रायः सबैले भन्ने गरेको ‘पिकनिक’ भित्रिएको हो ।”
यस्तै अनुभव छ लामो समय होटल सोल्टी, होटल मल्लमा काम गर्नुभएको वरिष्ठ सेफ रामकृष्ण पन्तको पनि । आफ्नो करिब साढे छ दशक पुरानो बाल्यकाल सम्झँदै पन्त भन्नुहुन्छ, “अहिलेका नयाँ प्रचलनहरूले हामीलाई सबथोक बिर्साइदियो । हामी सानो छँदा तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको पैसाले खुला चौर तथा बारीका पाटामा वनभात पकाएर खाने गरेको स्मृतिमा आउँछ । सागभात मात्रै भए पनि त्यो बेलाको स्वाद र खुला ठाउँमा खाँदाको रमाइलो अहिले कहाँ पाउनु ? जेहोस्, नयाँ पुस्ताका सेफहरूले यसरी हाम्रा पुराना परम्परासँग जोडिएको भोजन संस्कृतिलाई जोगाउने प्रयत्न गरेकामा खुसी लागेको छ ।”
सेफ विक्रम गिरी नेपाली परम्परा र संस्कृतिसँग जोडिएका खाना र तिनका शैलीहरूलाई जोगाइराख्न कुनै न कुनै रूपमा कार्यक्रमहरूको आयोजना गरिने बताउनुहुन्छ । केही समय अघि ‘जन्ते बाख्रो खाउँ परम्परा जोगाउँ’ कार्यक्रम पनि उनीहरूले आयोजना गरेका थिए । सेफ गिरि भन्नहुन्छ, “अहिले पो होटल, पाटी प्यालेसमा विवाह हुन्छ र खानाका परिकारहरू सहजै उपलब्ध हुन्छन् । तर उबेला जन्ते बाख्रोको महत्व नै बेग्लै थियो । वर्षमा एक दिन वनभात नै ठूलो कुरा थियो । त्यसैले त्यो स्वाद र शैलीलाई नयाँ पुस्ताको जानकारीसम्म ल्याउन हामीले यस्ता कार्यक्रम गर्दै जानेछौँ ।”
लोकल कुखुराको झोलसहित जेठोबुढो चामलको भात, गिठा र तरुलको तरकारी, मूलाको थेपे (अचार) र रायोको साग थिए वनभातका परिकार । खानाको अन्तिममा थियो दूधको कुराउनी । अनि पेय पदार्थमा थियो मही । सबै गाउँकै उत्पादनअर्थात् अग्र्यानिक थियो । भोकाएका जन्तीझैँ बारीका पाटामा गोलबद्ध भएर बसे सेफ र अन्य पाहुनाहरू । खानाका लागि न थाल कचौरा थिए र नत चम्चा काँटा नै । सालका टपरी र दुनामा पस्किएको भात हातैले कपाकप खान थाले ।
वतभात अहिलेको ‘पिकनिक’ परम्पराको पुरानो रूप हो । त्यसैले त अहिलेको सहरिया जीवनको पिकनिकमा जस्तो न दशथरि खानाका परिकार थिए र नत चर्काे स्वरमा कुनै गानाबजानासहितको नाचगान । नत पेयमा कुनै मादक पदार्थ नै थियो ।
खान बसेपछि सुुरु भयो आफू सानो हुँदा खाने गरेको वनभातको स्मरण । कतिले आफ्ना वास्तविक भोगाइ त कोहीले किस्साहरू सुनाउँदै थिए । कतिले आफ्नै बिहेका तथा सानोमा आफू जन्ती जाँदाका, जन्तेबाख्रो खाएका आदि स्मृतिहरू हाँसोठट्टाका साथ सुनाइरहेका थिए । यी भोगाइहरूले बडो रोमाञ्चित बनइरहेको थियो नयाँ पुस्तालाई । किनकी कार्यक्रमको नाम नै थियो, ‘वनभातको पुरानो स्वाद नयाँ पुस्तासँग ।’
करिब ५० वर्षअघिका ती किस्सा र वास्तविकता सुन्दा एकादेशका कथाजस्तै लाग्दै थियो नयाँ पुस्तालाई । वनभात खान पुगेका जेनजी पुस्ताका युवा विज्ञान पाठक र सागर शर्मालाई भने न पहिले विवाहको परिकार बन्ने गरेको जन्तेबाख्रो र नत वनभातकै जानकारी थियो । उहाँ भन्नुहुन्छ, “कतै सुनेको त थिएँ, तर खाएको थिइन । आज अग्रजहरूबाट यो पुरानो परम्पराका बारेमा सुन्दा र सालको टपरीमा हातले खाना खाँदा रमाइलो भयो ।”
भुइँमा पलेटी कसेर वनभात खाँदै हुनुहुन्थ्यो होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाह । शाहले भन्नुभयो, “आज एउटा अद्भूत अनुभव भयो, सेफहरूको केहीअघिको जन्ते बाख्रो कार्यक्रम होस् या आजको वनभात, जिब्रोको स्वाद मात्र नभएर आत्मीय तृप्ति नै मिलेको महसुस भयो । यो नेपाली मौलिक संस्कृतिलाई हामीले नै जोगाउनुपर्छ ।” उहाँले नेपाली परम्पार र संस्कारसँग जोडिएर आउने भोजनको संरक्षण र प्रवद्र्धनका लागि हानले अग्रसरता लिने जानकारी पनि दिनुभयो ।
पर्यटन व्यवसायी अभिषेकविक्रम शाह नेपाली परम्परासँग जोडिएको भोजन संस्कृतिलाई पर्यटन क्षेत्रमा पनि नयाँ प्याकेजका रूपमा परिचित गराउन सकिने बताउनुहुन्छ । यसबाट नेपाली संस्कृतिको जगेर्ना पनि हुने र ठूला होटलहरूमा नयाँ प्याकेज दिन सकिए नेपालको संस्कृति पनि विश्वव्यापी हुने उहाँको धारणा छ ।
प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष शङ्कर भण्डारी भन्नुहुन्छ, “अहिलेका बालक–युवाले यो परम्परा देखेकै छैनन् । उनीहरूलाई पनि संस्कार र संस्कृति हस्तान्तरण गर्नु अघिल्लो र हाम्रो पुस्ताको पनि कर्तव्य हो । हामीले जति धेरै पुराना कुराहरूलाई पुनःस्थापना गर्छौं त्यो अहिले आएर नयाँ प्याकेजका रूपमा परिचित हुन पुग्दछ । त्यसैले यस्ता संस्कृतिको हामीले नै जगेर्ना गर्नुपर्दछ ।”
सालको पातको टपरीमा बारीको डिलमा बसेर वनभात खाँदा अद्वितीय अनुभव भएको चर्चित सेफ प्रकाश कटुवाल र गिरीराज भट्टले बताउनुभयो । उहाँहरूले भन्नुभयो, “खानपानको स्वरूप संस्कार र संस्कृतिको शैली फेरिएको छ तर यस्ता परम्परालाई जोगाउनुपर्छ । हामी अब यस्तै पुराना संस्कृतिहरूलई जोगाउँदै अघि बढ्नुपर्छ ।”
त्यहाँ उपस्थित रत्नबहादुर थापा, शिवहरि घिमिरे, दीपेन्द्रमान शाक्य, श्याम लामालगायतले नेपालले पर्यटन क्षेत्रमा अब नयाँ नयाँ प्याकेज र आकर्षण थप्नुपर्ने बताउनुहुन्छ । हामीबीच पनि प्रतिस्पर्धा बढेको र हामीले हाम्रो देशका अद्वितीय संस्कृतिहरूलाई विश्वमा परिचित पनि गराउनुपर्ने भएकाले यस्ता परम्परालाई नयाँनयाँ प्याकेजका रूपमा थपेर नयाँ आकर्षण दिने सकिने उहाँहरूको भनाइ छ ।
भिक्स मिडिया एन्ड टेक्नोलोजी तथा दि भ्वाइस अफ सेभ्सले आयोजना गरेको वनभात कार्यक्रममा उपस्थित सबैले नेपालको परम्परा जोगाउन सेफहरूले लिएको सो अग्रसरताका लागि धन्यवाद ज्ञापन गरेका थिए ।