कायरो, ८ चैत: युद्धग्रस्त सुडानमा स्वास्थ्य संरचनामाथिको आक्रमण थप भयावह बन्दै गएको छ । यहाँ पश्चिमी डार्फर क्षेत्रको एक अस्पतालमा गरिएको प्रहारमा कम्तीमा ६४ जनाको ज्यान गएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । मृतकमध्ये १३ जना बालबालिका रहेका छन्, जसले द्वन्द्वको मानवीय मूल्य अझ गम्भीर बनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस गेब्रेयससका अनुसार गत शुक्रबार पूर्वी डार्फरको अल डेइन शिक्षण अस्पतालमा भएको आक्रमणमा कम्तीमा ८९ जना घाइते भएका छन् । आक्रमणपछि अस्पताल पूर्ण रूपमा निष्क्रिय बनेको छ, जसले घाइते र बिरामीहरूको उपचारमा गम्भीर सङ्कट सिर्जना गरेको छ ।
सुडान सन् २०२३ अप्रिलदेखि गम्भीर द्वन्द्वमा फसेको छ । यस मुलुकमा नियमित सेना र अर्धसैनिक द्रुत समर्थन बलबीचको शक्ति सङ्घर्ष व्यापक युद्धमा परिणत भएको छ । यही द्वन्द्वकै क्रममा नागरिक पूर्वाधार, विशेषगरी स्वास्थ्य संस्थाहरू बारम्बार निशानामा पर्दै आएका छन् ।
अस्पतालमा भएको यस पछिल्लो आक्रमणका विषयमा दुवै पक्षले एकअर्कामाथि आरोप–प्रत्यारोप गरेका छन् । द्रुत समर्थन बलले उक्त आक्रमण सेनाबाट भएको दाबी गरेको छ भने सेनाले अस्पतालमा आक्रमण गरिएको अस्वीकार गरेको छ । यद्यपि, दुई जना सैन्य अधिकारीहरूले भने नजिकै रहेको प्रहरी चौकीलाई लक्षित गरिएको आक्रमण भएको बताएका छन् । उनीहरूले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा यसबारे जानकारी दिएका हुन् ।
संयुक्त राष्ट्रसङ्घका तथ्याङ्कअनुसार हालसम्मको युद्धमा ४० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ, तर विभिन्न सहायता संस्थाहरूले वास्तविक सङ्ख्या अझ धेरै हुन सक्ने बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार युद्ध सुरु भएयता स्वास्थ्य संस्थामाथि भएका आक्रमणमा मात्र दुई हजारभन्दा बढी मानिसको ज्यान गएको छ ।
यसै सन्दर्भमा टेड्रोस गेब्रेयससले सुडानमा भइरहेको हिंसात्मक द्वन्द्व तत्काल कम गर्न आग्रह गर्नुभएको छ । उहाँले ‘अब पर्याप्त रगत बगिसकेको छ, पर्याप्त पीडा भोगिएको छ, अब द्वन्द्व कम गर्ने समय आएको छ’ भन्दै अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर ध्यान दिन आह्वान गर्नुभयो ।