मध्यविन्दु (नवलपरासी), १० चैतः गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सबैभन्दा बढी क्षयरोगी भेटिएका छन् । गत आव र चालु आवको तथ्याङ्कका आधारमा नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा प्रदेशकै सबैभन्दा बढी क्षयरोगी भेटिएका हुन् ।
चालु आवको फागुन मसान्तसम्म जिल्लामा ३६२ जना नयाँ क्षयरोगी भेटिएका छन् । चालु आवको फागुन मसान्तसम्म जिल्लामा १६ जना क्षयरोगीको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का क्षयरोग स्थानीय स्रोत व्यक्ति डिल्लीराम तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँमध्ये १४ वर्ष मुनिका दुई जना बालबालिका रहेका छन् ।
“जिल्लामा अहिले ३६२ जना क्षयरोगीले औषधि सेवन गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “औषधि सेवन गरिरहेका क्षयरोगीमध्ये बहुऔषधि प्रतिरोध बिरामी(डिआर) भएका आठ जनाको मध्यविन्दु प्रादेशिक अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीय रूपमा उपचार भइरहेको छ ।”
चालु आवमा गण्डकी प्रदेशका अन्य जिल्लामध्ये कास्कीमा ३३१, तनहुँमा १८३, स्याङ्जामा १६०, गोरखामा १३४, बागलुङमा १३०, लमजुङ ६२, पर्वतमा ५२, म्याग्दीमा २९ र मुस्ताङमा १० जना क्षयरोगी भेटिएका छन् । गत आव २०८१/८२ मा नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा ६७२ जना क्षयरोगी भेटिएका थिए । तीमध्ये १५ जनाको मृत्यु भएको क्षयरोग स्थानीय स्रोत व्यक्ति तिवारीले बताउनुभयो ।
“गत आवमा कास्कीमा ६५०, स्याङ्जामा ३४८, तनहुँमा ३१८, गोरखामा २७५, बागलुङमा २६२, लमजुङमा १०४, पर्वतमा ८४, म्याग्दीमा ५०, मुस्ताङमा १६ र मनाङमा चार जना क्षयरोगी भेटिएका थिए”, उहाँले भन्नुभयो, “क्षयरोगी भेटिएको सङ्ख्याका आधारमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) गण्डकी प्रदेशमै पहिलो जिल्ला हो ।”
क्षयरोगको उपचार नवलपरासी(बर्दघाट का लागिसुस्तापूर्व)मा ७६ डट्स केन्द्र रहेको स्थानीय स्रोत व्यक्ति तिवारीले जानकारी दिनुभयो । मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा डिआर(ड्रक रेसिस्टेन्ट) होस्टेल रहेको छ । जहाँ अहिले आठ जना डिआर क्षयरोगीको आवासीय रूपमा उपचार भइरहेको छ । गण्डकी प्रदेशमा डिआर होस्टेल नवलपरासी(बर्दघाट सुस्तापूर्व) सँगै बागलुङ र कास्की जिल्लामा छ ।
“क्षयरोगको उपचारका लागि गण्डकी प्रदेशमा ६४५ डट्स केन्द्र रहेको छ”, उहाँले भन्नुभयो, “गण्डकी प्रदेशको ६१ स्थानमा माइक्रोस्कोपी केन्द्र, १० स्थानमा ‘जिनएक्सपट’ केन्द्र, तीन स्थानमा ‘एक्सपर्टएक्सङिआर’ केन्द्र, १० स्थानमा डिआर सवसेन्टर, एक÷एक स्थानमा होस्टेल र होमकेन्द्र रहेका छन् ।”
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा क्षयरोग खोज पड्ताल कार्यक्रमअन्तर्गत आठवटै पालिकामा गरी चार हजार ७७९ जनाको छातीको एक्स–रे गरिएको थियो भने ३२४ जनाको खकार परीक्षण गरिएको थियो । क्षयरोग खोज पडताल शिविर वाट ९२ जना नयाँ क्षयरोगी भेटिएको प्रादेशिक जनस्वास्थ्य कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रमुख केशव चापागाईंले बताउनुभयो ।
“जिल्लामा प्रत्येक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दै गइरहेको छ”, प्रमुख चापागाईंले भन्नुभयो, “समयमै उपचार गराएमा पूर्ण रूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराउँदै रोगीको पहिचान कार्यलाई तीव्रता दिइएको छ ।”
उहाँका अनुसार क्षयरोग एक सरुवा रोग हो । जुन माइकोव्याक्टेरियम ट्युबरकुलोसिसले सूक्ष्म कीटाणुबाट लाग्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासका माध्यमबाट सर्दछ । एक जना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने प्रमुख चापागाईंले बताउनुभयो । बहुऔषधि प्रतिरोध बिरामीको सङ्ख्या बढ्नु क्षयरोग न्यूनीकरणका लागि चुनौती थपिएको उहाँले बताउनुभयो ।
विश्वका आठ वटा देशमा मात्र क्षयरोगका दुई तिहाइ बिरामी रहेका छन् । सोमध्ये २८ प्रतिशत भारतमा, नौ दशमलव दुई प्रतिशत इन्डोनेसियामा, सात दशमलव चार प्रतिशत चीनमा र सात प्रतिशत फिलिपिन्समा रहेका छन् । विश्वस्वास्थ्य सङ्गठनले नेपाललाई क्षयरोग जोखिमको ३० देशभित्र राखेको छ । नेपाल सरकारले क्षयरोग निवारणका लागि आव २०७७/७८ मा २३८ प्रतिलाख जनसङ्ख्यामा नयाँ क्षयरोग हुने दर भएकामा आव २०८२/८३ सम्ममा १८१ प्रतिलाख जनसङ्ख्यामा झार्ने लक्ष्य लिएको छ ।
प्रत्येक वर्ष मार्च २४ तारिखका दिन मनाइने विश्व क्षयरोग दिवस नेपालमा पनि आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको क्षयरोग दिवसको नारा ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँः राष्ट्रिय अभियान, हाम्रो योगदान’ तय गरिएको छ ।