चैत १०, २०८२ मंगलबार

काठमाडौँ, १० चैत : इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव हुने भएको छ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र पर्यटन प्रवर्द्धनको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

सोमबार काठमाडौँमा पत्रकार भेटघाटमा महोत्सव आयोजक समितिका संयोजक सनम राईले ‘रेडपाण्डा ट्रेल’ मा आधारित पदमार्ग पर्यटनलाई केन्द्रमा राखेर महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । करिब ४० किलोमिटर लामो उक्त पदमार्गले माईपोखरीदेखि जौबारीसम्मका विभिन्न पर्यटकीयस्थललाई जोड्छ । यस मार्गमा रेडपाण्डासहित विभिन्न प्रजातिका चरा, वन्यजन्तु, जैविक विविधताको अध्ययन–अवलोकन गर्न सकिन्छ । सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा महोत्सव आयोजना हुनेछ ।

आयोजकका अनुसार रेडपाण्डा पदयात्राको अनुभव, जङ्गल सफारी, चराहरूको दृश्यावलोकन महोत्सवका मुख्य आकर्षण रहनेछन् । यस्तै, यहाँका १८ प्रजातिको गुराँसको अध्ययनका साथै आदिवासी जनजातिको संस्कृतिसमेत नियाल्न पाइनेछ । विश्वको अग्लो सगरमाथासहित ६० भन्दा बढी हिमशृङ्खला, सयौँ प्रजातिका चराको अवलोकन गर्न सकिने संयोजक राईले बताउनुभयो । महोत्सवमा आन्तरिक र बाह्य १० हजार पर्यटक सन्दकपुर भित्र्याउने आयोजकको लक्ष्य छ ।

महोत्सव आयोजक सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले यस महोत्सवले पालिकाका प्रमुख गन्तव्यहरूको समेत प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसअघि २०८० चैत २७ देखि वैशाख १ गतेसम्म पहिलो र २०८१ चैत २० देखि २३ गतेसम्म दोस्रो रेडपाण्डा महोत्सव आयोजना गरिएको थियो । रेडपाण्डाको माध्यमबाट पूर्वी नेपालको वनजङ्गल पर्यटनलाई चलायमान बनाउने उद्देश्य रहेको जनाइएको छ । 

झापाको चारआलीबाट ७५ किलोमिटरको दूरीमा इलाम बजार र त्यहाँबाट १८ किलोमिटर यात्रा गरेपछि सन्दकपुर गाउँपालिकाको रामसार क्षेत्र पुग्न सकिन्छ । त्यहाँको पर्यटन सूचना केन्द्रको सहयोगमा यहाँका पर्यटकीय गन्तव्यको यात्रा गर्न सकिन्छ ।