चन्द्रपुर (रौतहट), १० चैत ः गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५० भन्दा बढी इँटा उद्योगका पकाउनका इँटा तयार पारिएका थिए ।
इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष रामविनोद साहका अनुसार वर्षाको कारण जिल्लामा सञ्चालित ५० इँटा उद्योगमा क्षति भएको छ । ती उद्योगमा करिब एक करोड ५० लाखभन्दा बढी काँचो इँटा नष्ट भएको छ । प्रत्येक काँचो इँटाको लागत औसतमा तीन रुपैयाँभन्दा बढी पर्ने भएकाले कुल नोक्सानीको रकम करिब साढे चार करोड रुपैयाँबराबर भएको अनुमान छ ।
जिल्लाको बिके इँटा उद्योग, वीर इँटा उद्योग, पूजा इँटा उद्योग, एमबिआई इँटा उद्योग, सोना इँटा उद्योग, रामजानकी इँटा उद्योगलगायत ५० उद्योगमा बेमौसमी वर्षाले नोक्सानी भएको छ । गरुडा–५ महम्मदपुरस्थित रहेको एसपिएल इँटा उद्योगका सञ्चालकसमेत रहनुभएका साहले उद्योगले निर्माण गरेका काँचो इँटा खुला स्थानमा सुकाउने क्रममा बेमौसमी वर्षाले नष्ट गरेको गुनासो गर्नुभयो ।
काचो इँटाको समेत बीमाको व्यवस्था गरिदिन इँटा व्यवसायी महासङ्घका केन्द्रीय सदस्य मोहन साहले माग गर्नुभएको छ । गुजरा–७ स्थित रामजानकी इँटा उद्योगका सञ्चालक रहनुभएका उहाँले बेमौसमी वर्षाको कारण इँटा व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको बताउनुभयो । सरकारले वा सम्बन्धित निकायले काँचो इँटाको बीमा प्रणाली अवलम्बन गरिदिने हो भने यस्ता प्राकृतिक प्रकोपबाट इँटा व्यवसायीले राहत पाउने उहाँको भनाइ छ ।
राधाकृष्णा इँटा उद्योगका सञ्चालक प्रेमशङ्कर यादवले आफ्नो उद्योगबाट लाखौँ मूल्यबराबरको काँचो इँटा नष्ट भएको गुनासो गर्नुभयो । एउटा काँचो इँटा उत्पादन गर्न माटो, पानी, मजदुरीलगायतको लागत जोड्दा औसतमा तीन रुपैयाँभन्दा बढी खर्च हुने उहाँ बताउनुहुन्छ ।
जिल्लामा १६० इँटा उद्योग दर्ता भएको भएता पनि हाल ५७ उद्योगमात्र सञ्चालनमा छन् । पछिल्लो समय इँटा उद्योग बन्द गर्ने क्रम बढेको छ । काचो इँटाको बीमा नहँुदा गत वर्ष पनि बमौसमी वर्षाले इँटा उद्योगमा क्षति पुर्याएको थियो ।