चैत १०, २०८२ मंगलबार

जुम्ला, १० चैत :  यहाँको तिला गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृतको रिक्त स्थानमा सम्बन्धित मन्त्रालयले अर्को कर्मचारी नपठाएपछि गाउँपालिकाको दैनिक कामकाज नै प्रभावित भएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।

    प्रशासकीय अधिकृत नहुँदा कतिपय सम्पन्न भइसकेका योजनाको भुक्तानीलगायतका काम ठप्प छन् । सम्बन्धित मन्त्रालयसँग प्रशासकीय अधिकृत पठाइदिन गाउँपालिकादेखि पत्र पठाएपनि सुनुवाइ नभएको गुनासो छ । नयाँ सरकार गठन भएपछि मात्र प्रमुख प्रशासकीय अधिकृत पठाउने भनी मन्त्रालयबाट जवाफ पाएको गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो ।

    यसअघिका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई गत माघको दोस्रो साता सरुवा हुनुभएको थियो । प्रमुख प्रशासकीय नहुँदा फागुनदेखि कर्मचारीको तलबसमेत निकासा हुन सकेको छैन ।