चैत १०, २०८२ मंगलबार

न्युयोर्क, १०चैत: इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले  निन्दा गर्नु भएको छ । 

संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले विज्ञप्ति जारी गर्दै  यस क्षेत्रमा इजरायलले लगभग दैनिकजसो आक्रमण गर्ने गरेकाले  निर्दोश प्यालेस्टाइनीहरुको  मृत्यु हुने, घाइते हुने र सम्पत्तिको क्षतिको साथै विस्थापन सामना गर्नु परेको जनाउनु भएको छ ।

प्रवक्ताले महासचिवको भनाइलाई दोहोरÞ्याउदै  यस क्षेत्रमा रहेका इजरायली बस्तीहरू र तिनीहरूसँग सम्बन्धित पूर्वाधारको–कुनै कानुनी वैधता नभएको र यीनीहरु संयुक्त राष्ट्रका प्रस्तावहरू सहित अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनको खिलाप यस क्षेत्रमा स्थापीत भएको उल्लेख गर्नु भएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले वेस्ट ब्याङ्कको चिन्ताजनक अवस्थालाई तत्काल कम गरी यस क्षेत्रका नागरिक र उनीहरूको सम्पत्तिमा हुने आक्रमणको अन्त्य गर्न सम्बन्धित निकायलाई  आह्वान गर्नु भएको छ ।