चैत १०, २०८२ मंगलबार

काठमाडौँ, १० चैतः हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा स्वास्थ्यकर्मीका लागि तालिम सञ्चालन गरिएको छ । 

    नेपाल मेडिसिटी अस्पतालले स्कटल्याण्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिस (इएमआरएस)सँगको सहकार्यमा ‘एड्भान्स टे«निङ एण्ड टे«निङ फर ट्रेर्नस प्रोग्राम इन रिट्रिभल मेडिसिन’ तालिम सोमबारदेखि सञ्चालन गरेको हो । 

    अस्पतालका इमर्जेन्सी तथा हाई अल्टिच्युड सर्भिस चिफ डा सञ्जय कार्कीले तालिम विशेषगरी हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन, स्थानान्तरण तथा उपचार प्रक्रिया सिकाइने बताउनुभयो । “बिरामीलाई कसरी सुरक्षित रूपमा सार्ने, हेलिकप्टरभित्र बिरामीको उचित अवस्थिति तथा यात्राको क्रममा आवश्यक हेरचाह कसरी गर्ने भन्ने विषयमा व्यावहारिक अभ्याससहित प्रशिक्षण प्रदान गरिनेछ,” उहाँले भन्नुभयो । 

    नेपालमा हालसम्म सात वटा अस्पतालमा हेलिकप्टर अवतरण गराउन ‘हेली रुफ’ रहेका छन् । 

    स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइ प्रमुख डा प्रकाश बुढाथोकीले आकस्मिक स्वास्थ्य उपचारका लागि सरकारले तालिम प्रदान गर्दै आएको बताउनुभयो  । “हामीसँग १०४ चिकित्सक तथा मेडिक्समात्र तालिम प्राप्त छन् । यो सङ्ख्या बढाउन हामीले एम्बुलेन्स चालक, टेक्निसियन आदिलाई तालिम दिँदै आएका छौँ । त्यस्तै, बेसिक सर्भाइभल ट्रेनिङ पनि प्रदान गर्दै आएका छौँ,” उहाँले भन्नुभयो । 

    कार्यक्रममा स्कटल्याण्डका विशेषज्ञ प्रशिक्षक, स्विट्जरल्यान्ड, भारत र जापानबाट आमन्त्रित चिकित्सकले पनि सहजीकरण गर्ने जनाइएको छ । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा उपेन्द्र महतोले यस प्रकारका तालिमले नेपालका स्वास्थ्य संस्था तथा सरोकारवालाबीच सहकार्य सुदृढ गर्दै देशको स्वास्थ्य सेवा स्तर अन्तरराष्ट्रिय मापदण्डअनुरूप उकास्ने विश्वास व्यक्त गर्नुभयो । 

    तालिममा पूर्व–अस्पताल सेवा तथा आकस्मिक चिकित्सा सेवामा संलग्न विभिन्न अस्पताल तथा संस्थाका करिब ३० जना स्वास्थ्यकर्मी र कर्मचारी सहभागी छन् ।