काठमाडौँ, ११ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित हुनुहुन्थ्यो ।
यसैगरी समारोहमा मन्त्री, नव निर्वाचित सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद् बैठक आह्वान गर्ने तयारी भइरहेको छ ।
यसैको तयारीका लागि आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले शपथ लिनुभएको हो । उहाँ ७८ वर्षका हुनुहुन्छ । सङ्घीय संसद् सचिवालयका अनुसार भोलि बिहीबार ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभाका नवनिर्वाचित बाँकी २७४ जना सदस्यलाई शपथ गराउनुहुनेछ । नयाँ सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्य केसीले संसद् बैठकको अध्यक्षता गर्नुहुनेछ ।