चैत ११, २०८२ बुधबार

वीरगञ्ज (पर्सा), ११ चैतः प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ । 

वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६० रन बनायो । एक सय ६१ रनको लक्ष्य मधेस प्रदेशले ३३ दशमलव ४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो । 

मधेस प्रदेशको जितमा अरनिको यादवको ४६, मोहम्मद आदिल आलमको ३४ र पवन सर्राफको २१ रन समावेश थियो । 

त्यस्तै सुदूरपश्चिमका लागि ब्याटिङ गर्ने क्रममा अभिषेक पालले ४५ बलमा ३३ रन तथा किरण ठगुन्नाले २३ रन जोडे । बलिङतर्फ मधेस प्रदेशका अरनिको यादवले तीन तथा प्रदीप पासवानले दुई विकेट लिए । 

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब तथा सात प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।