मुस्ताङ, ११ चैतः यहाँस्थित हिन्दू तथा बौद्ध धर्मालम्बीहरूको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा भक्तजनमैत्री पूर्वाधार निर्माण हुने भएको छ ।
सो मन्दिर परिसरमा रु पाँच करोडभन्दा बढीको लागतमा भक्तजनमैत्री पूर्वाधार निर्माण हुन लागेको हो । यसका लागि पुरातत्व विभागबाट चार वटा योजना स्वीकृत हुने तयारीमा छ । गत आर्थिक वर्ष २०८१÷०८२ मा मुक्तिनाथ विकास समितिमार्फत पुरातत्व विभागमा पठाइएको भक्तजनमैत्री आठ वटा योजनामध्ये चार योजना पुरातत्व विभागबाट स्वीकृत हुन लागेको पुरातत्व विभागले जनाएको छ ।
मुक्तिनाथ विकास समितिद्वारा पेस गरिएका आठ वटा योजनामध्ये चार वटा भक्तजनमैत्री पूर्वाधार योजनाहरू स्वीकृत हुन अन्तिम चरणमा रहेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । समितिले पठाएका योजनामध्ये पहिलो पटक रु पाँच करोड १९ लाख लागत अनुमान गरिएका चार वटा योजना एकैसाथ स्वीकृत हुने अन्तिम चरणमा रहेको व्यवस्थापक भुसालको भनाइ छ ।
उहाँका अनुसार स्वीकृत हुने तयारीमा रहेका भक्तजनमैत्री योजनामध्ये ड्रेस चेन्जिङ हल, शौचालय, नयाँ भक्तजन परिक्रमा पथ र १०८ धारा मर्मत तथा स्तरोन्नति रहेका छन् ।
मुक्तिनाथ विकास समितिका प्राविधिक इन्जिनियर विनय थकालीका अनुसार मुक्तिनाथमा भक्तजनले १०८ धारा र स्नान कुण्डमा नुहाएपछि कपडा फेर्नका लागि ‘ड्रेस चेन्जिङ’ हल निर्माण गर्न रु दुई करोड २० लाख, सार्वजनिक शौचालय निर्माणमा रु एक करोड ३४ लाख, नयाँ परिक्रममा पथ निर्माणमा रु एक करोड ५७ लाख र १०८ धारा मर्मत तथा स्तरोन्नतिका लागि रु आठ लाख २२ हजार लागत स्टमेट गरी विभागमा पठाएको जानकारी दिनुभयो ।
यसैगरी समितिले पुरातत्व विभागमा पेस गरेका अन्य चार वटा योजना तत्कालका लागि अध्ययनको क्रममा रहेको इन्जिनियर थकालीले बताउनुभयो । उहाँले समितिले मुक्तिनाथमा अवस्थित शिव मन्दिर जीर्णोद्वार, आनी आवास गृह, मन्दिर कम्पाण्ड वाल निर्माण र ‘भिआइपी कक्ष’ र ‘हाइअल्टिच्युड सिग्नेस सेन्टर’ लगायतका योजना पुरातत्व विभागबाट स्वीकृतिका लागि पठाएको बताउनुभयो ।
मुक्तिनाथ विकास समिति लामो समयसम्म निस्क्रिय रहँदा मुक्तिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी रकम र आर्थिक सहयोग रकम खर्च हुन सकेको थिएन । आव २०८०÷०८१ मा समिति पुनःगठन भएसँगै मुक्तिनाथ विकास समितिमा रहेको कोषको रकम खर्च गर्ने बाटो खुलेको हो ।
मुक्तिनाथ विकास समितिको कोषमा झन्डै रु १० करोड बढी रकम मौज्दात रहेको छ । भक्तजनले दान गरेको भेटी रकम खर्च हुन नसक्दा स्थानीयस्तरमा समितिको चर्को आलोचना हुने गरेको थियो ।
यसैगरी मुक्तिनाथ मन्दिरमा दिनहुँ सयौँ भक्तजनहरूले दर्शन गर्ने भए पनि मन्दिर क्षेत्रमा भक्तजनमैत्री पूर्वाधार नहुँदा मुक्तिनाथमा दर्शन गर्ने दर्शनार्थी भक्तजनलाई निकै समस्या र चुनौती हुने गरेको थियो ।
समितिका व्यवस्थापक भुसालले पुरातत्वमा पेस गरिएका योजना स्वीकृत भएमा समितिको कोषबाट खर्च हुने गरी भक्तजनमैत्री पूर्वाधार निर्माणको बाटो खुला हुने बताउनुभयो ।