चैत ११, २०८२ बुधबार

दैलेख, ११ चैतः यहाँको सदरमुकाम दैलेख बजारस्थित फूलबारी विद्या मन्दिरमा एसइई परीक्षार्थीलाई लक्षित गरी पाँच दिने योग विज्ञान तथा उत्प्रेरणा शिविर सुरु गरिएको छ । 

योग अभ्यास र उत्प्रेरणा पतञ्जली योग समिति दैलेखको सहयोगमा आजदेखि हरेक दिन साँझ ५ बजेदेखि ७ बजेसम्म योगाभ्यास सञ्चालन गरिने जनाइएको छ । तनावमुक्त, अनुशासित र उच्च मनोबलका साथ विद्यार्थीलाई परीक्षामा सहभागी गराउन योग महत्वपूर्ण हुने भएकाले शिविर आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक सुवासकुमार थापाले बताउनुभयो । 

पतञ्जली योग समिति दैलेखका मुख्य प्रशिक्षक शङ्कर थापा र महिला प्रशिक्षक भगवती थापाले योगको मापदण्ड अनुसार विद्यार्थीलाई प्रशिक्षण दिने जनाइएको छ । शिविरमा योगका आसन र प्राणायामका साथै स्वस्थ्यकर खानपान, असल संस्कार र सकारात्मक जीवनशैलीका विषयमा विद्यार्थीलाई प्रशिक्षित गरिने उहाँले आयोजकले जनाएको छ ।