चैत ११, २०८२ बुधबार

मोरङ, ११ चैतः कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले ‘पदमार्गमा आधारित पर्यटन विकास परियोजना’ले प्रदेशको समृद्धिमा महत्वपूर्ण योगदान पु-याउने बताउनुभएको छ । 

    कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सो परियोजनाको तेस्रो परियोजना निर्देशक समितिको बैठकमा आज उहाँले यो परियोजनाले प्रदेशको पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको हो ।

    नेपाल र स्वीट्जरल्यान्ड सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार कार्यान्वयनमा आएको यो परियोजना प्रदेशका आठ जिल्लाका २९ स्थानीय तहमा सञ्चालनमा छन् । हेल्भेटास नेपालको प्राविधिक सहयोगमा कार्यान्वयन भइरहेको यस परियोजनाले स्थानीय तहसँगको सहकार्यमा काम गरिरहेको छ । परियोजनाको मुख्य उद्देश्य स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्दै दिगो पर्यटनमार्फत स्थानीयको आयआर्जन वृद्धि गर्नु हो । दुई अर्ब ४५ करोड रुपैयाँ लागतको यो परियोजना आगामी २०८५ साउनसम्म सञ्चालन हुने जनाइएको छ ।

    परियोजनाअन्तर्गत चियाबारी, फाल्गुनन्द, लालीगुराँस र मुन्दुम गरी चार प्रमुख पदमार्ग विकासमा सहयोग पु¥याइएको छ । करिब ४०० किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्य राखिएकामा हालसम्म ४५५ किलोमिटर सर्वेक्षण सम्पन्न भइसकेको परियोजनाले जनाएको छ । 

    गत वर्ष २० किलोमिटर निर्माण सम्पन्न भएकामा यस वर्ष १३२ किलोमिटर निर्माण भइरहेको र आगामी वर्ष २३४ किलोमिटर निर्माण गर्ने योजना अघि सारिएको छ । परियोजनाले हालसम्म ३३ हजार दिन बराबरको रोजगारी सिर्जना गरिसकेको छ भने अन्त्यसम्म एक लाख बढी स्थानीय लाभान्वित हुने लक्ष्य लिएको छ । 

    मुन्दुम क्षेत्रमा स्थानीय खानाको अध्ययन, वास्तुकला अभिलेखीकरण, तथा टेम्कैमैयुङ गाउँपालिकामा समुदायमा आधारित पर्यटन नीति निर्माणजस्ता पहलहरू अघि बढाइएका छन् । बैठकले चालु तथा आगामी आवको कार्ययोजना पारित गर्नुका साथै पर्यटक सुरक्षाका लागि पर्यटक प्रहरी भर्ना गर्ने, पदमार्ग मापदण्ड तयार गर्ने तथा प्रदेशको पर्यटन ब्रान्डिङ सुदृढ गर्ने निर्णय गरेको छ ।

    बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीसँगै पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली र नेपालका लागि स्वीस राजदूत डा डानियेल म्युवली लगायतको उपस्थिति रहेको थियो ।