काठमाडौँ, १३ चैतः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रतिभा रावल नियुक्त हुनुभएको छ ।
आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो । रावललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
रास्वपाबाट समानुपातिक प्रणालीमा महिला ‘क्लस्टर’ बाट उहाँ सांसद निर्वाचित हुनुभएको हो ।
रावलले यसअघि ग्यालेक्सी टेलिभिजनमा कार्यक्रम निर्माताका रूपमा काम गर्नुभएको थियो । उक्त टेलिभिजनमा रवि लामिछानेको समूहमा काम गर्नुभएकी उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि राजनीतिमा आबद्ध हुनुहुन्छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा जन्मिनुभएकी रावलले स्नातक तहसम्म अध्ययन गर्नुभएको छ । एक दशकभन्दा बढी समय पत्रकारिताको अनुभव बटुल्नुभएकी रावलले लामिछानेको निजी सचिवालयमा समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।