काठमाडौँ, १३ चैतः नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले पदभार ग्रहण गर्नुभएको छ ।
सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज उहाँले पदबहाली गर्नुभएको हो । मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारी र मातहतका निकायका प्रमुख तथा प्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री डा तिमिल्सिनाले पद प्राप्तिभन्दा जिम्मेवारी पूरा गर्नु नै आफ्नो प्राथमिकता भएको बताउनुभयो । उहाँले देशले निकास खोजिरहेको उल्लेख गर्दै राजनीति र प्रशासनप्रति घट्दो विश्वास पुनःस्थापित गर्न सबैलाई आह्वानसमेत गर्नुभयो ।
“हामीले जिम्मेवारी लिएका छौँ, हाम्रो सबैभन्दा ठूलो धर्म राजनीति र प्रशासनप्रति घट्दो विश्वास पुनःस्थापित गर्नु हो”, डा तिमिल्सिनाले भन्नुभयो, “राजनीति नै गलत हो भन्ने सन्देश प्रवाह भइरहेको अवस्थालाई सुधार्दै देशमा आशा जगाउनुपर्छ ।”
डा तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र शाहको ‘मिसन’ र ‘भिजन’अनुसार मन्त्रालयले पूर्ण सहयोग गर्ने उल्लेख गर्नुभयो । कर्मचारीलाई पनि इमानदारिता र क्षमता प्रयोग गर्दै सामूहिक भावनाका साथ काम गर्न उहाँले आग्रहसमेत गर्नुभयो । “तपार्इंका हरेक विचारहरू यो देशका नीतिनियम, ऐनसँग बाझिने पनि हुनुहुँदैन । यो देशका जनताको सपनासँग बाझिने पनि हुनुहँुदैन । कृपया यो कुरा मनमा राखेर आफ्ना काम कर्तव्यलाई अगाडि बढाउनु होला”, मन्त्री तिमिल्सनाले भन्नुभयो ।
उहाँले आजैका दिनदेखि आफ्नो कर्तव्यमा होमिएका र देशलाई अगाडि बढाउनका लागि समर्पित भएर लाग्ने धारणा राख्नुभयो ।
मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले मन्त्रालयका प्रमुख कार्य र मुख्य नीति तथा योजना र कानुनबारे मन्त्रीलाई ‘ब्रिफिङ’ गर्नुभयो । “बजेट सिलिङ प्राप्त भइसकेको छ । बजेट तर्जुमा, प्राथमिकता निर्धारणलगायत काम मन्त्रीको निर्देशनमा गर्नेछौँ”, उहाँले भन्नुभयो ।
नवनियुक्त मन्त्रीलाई मन्त्रालयका कर्मचारी र मातहतका पदाधिकारीहरुले स्वागत एवं कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
अनुसन्धान विशेषज्ञ एवं विश्लेषक सञ्चारमन्त्री
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमल्सिना राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा नुवाकोट क्षेत्र नं १ बाट निर्वाचन सांसद हुनुहुन्छ ।
रास्वपाका केन्द्रीय परराष्ट्र विभागका उपप्रमुख डा तिमल्सिनाले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट राजनीतिक र अन्तरराष्ट्रिय मामिलामा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको छ । सांसद हुनुअघि उहाँ त्रिभुवन विश्वविद्यालयको आन्तरिक सुरक्षा, राजनीति र कूटनीतिमा अध्यापन गर्नुहुन्थ्यो ।
डा तिमल्सिना अनुसन्धान विशेषज्ञ एवं विश्लेषक हुनुहुन्छ । नेपालको शान्ति प्रक्रिया, परराष्ट्र नीति र भू–राजनीतिक जटिलताको सूक्ष्म अध्ययन एवं अन्तरराष्ट्रिय मञ्चमा अनुसन्धानमूलक प्रस्तुतिमार्फत देशको नीतिगत बहसलाई डो¥याउने कार्यमा पनि संलग्न हुनुहुन्थ्यो ।
साहित्य, लेखन र पत्रकारिता क्षेत्रमा पनि आबद्ध डा तिमल्सिना ‘भ्रष्टाचारविरुद्धको लडाईं ः एन्टी करप्सन स्टडिज’ का विज्ञ मानिनुहुन्छ । उहाँ ‘एसियन इस्टिच्युट फर एड्भान्स रिसर्च’ का संस्थापक पनि हुनुहुन्छ ।