चैत १३, २०८२ शुक्रबार

काठमाडौँ, १३ चैतः नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताउनुभएको छ ।
 
    राष्ट्रपतिसक्षम शपथ ग्रहणलगत्तै सिंहदरबारमा आएर पदभार ग्रहण गर्दै मुलुकी अपराधसंहिता, २०७४ लगायतका संहिताहरुमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्ने विषयमा हस्ताक्षर गर्दै सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताउनुभयो । 

    कानुनमन्त्री गौतमले ‘मुलुकी अपराध संहिता, २०७४ जबरजस्ती करणी र जबरजस्ती करणी पश्चात् हुने हत्या जस्तो जघन्य कसूर, यौनजन्य हिंसा, बालबालिकासम्बन्धी कसूरमा संलग्न कसुरदारलाई दण्ड, सजाय र पीडितलाई शीघ्र न्यायका लागि अपराध संहिता लगायतका कानुनहरूमा देखिएका अवरोध पहिचान गरी अध्ययन गर्न पेस भएबमोजिम अध्ययन कार्यदल गठन गरी अध्ययन गराउने र सम्बद्ध कानुनमा संशोधन कार्य अघि बढाउन मनासिव देखी पेस गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो ।
 
    “विगतमा रोकिएर रहेका नयाँ निर्माण गर्नुपर्ने कानुनहरु, संशोधन गर्नुपर्ने विषयहरुमा सबै अध्ययन गरेर काम गर्छौं,” मन्त्री गौतमले भन्नुभयो, “भर्खर जिम्मेवारी सम्हालेको छु, अध्ययन गरेर काम गर्छौं ।”
 
    चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधित्व गर्नुहुन्छ । विसं २०५२ असार ३ गते दोलखामा जन्मिनुभएकी गौतम हाल चितवनको भरतपुर महानगरपालिकालाई स्थायी बसोबास बनाउँदै आउनुभएको छ । कानुन विषयमा स्नातक पूरा गर्नुभएको छ भने हाल काठमाडौँ स्कुल अफ लमा एलएलएम अध्ययनरत हुनुहुन्छ ।
 
    राजनीतिमा प्रवेशअघि नै कानुन, मानव अधिकार तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहनुभएकी गौतमले विभिन्न युवा अभियान र नीतिगत बहसमा आफ्नो उपस्थिति जनाउँदै आउनुभएको थियो । कानुनी समस्या र अधिकार उल्लङ्घनका विषयलाई कानुनी प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव समेत छ ।