चैत १३, २०८२ शुक्रबार

काठमाडौँ, १३ चैतः  नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मीत पोखरेलले आज सिंहदरबारमा पदभार ग्रहण गर्नुभएको छ ।

    मन्त्री पोखरेलले जनताबाट प्राप्त मतप्रति आफूहरू अत्यन्त संवेदनशील रहेको बताउँदै आगामी पाँच वर्षभित्र पार्टीले गरेका प्रतिबद्धता पूरा गर्ने लक्ष्यसहित काम गर्ने बताउनुभयो । उहाँले मतदाताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्नुभयो । “हामीले पाएको मतलाई केवल समर्थन होइन, जिम्मेवारीका रूपमा बुझेका छौँ,” उहाँले भन्नुभयो ।

    शिक्षा क्षेत्र सुधारका सन्दर्भमा मन्त्री पोखरेलले काठमाडौँ महानगरपालिकामा लागू गरिएका सफल कार्यक्रमलाई राष्ट्रियस्तरमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । उहाँले शिक्षकको क्षमता अभिवृद्धि, विद्यालय पूर्वाधार सुधार, नतिजामुखी कार्यक्रम सञ्चालन तथा छात्रवृत्तिलाई पारदर्शी र व्यवस्थित बनाउने कार्यलाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो ।

    मन्त्री पोखरेलले सानै उमेरदेखि सूचना प्रविधि, एआई, स्वास्थ्य र खेलकुदलाई शिक्षासँग जोड्ने नीति ल्याइने जानकारी दिनुभयो । खेलकुद क्षेत्रबारे बोल्दै उहाँले दीर्घकालीन सुधारका लागि सानो उमेरदेखि नै खेलाडीलाई उचित प्रशिक्षण र पोषण उपलब्ध गराउने योजना अघि सार्ने बताउनुभयो । हाल सुरक्षा निकायमा आधारित खेलाडी उत्पादनको प्रवृत्तिलाई परिवर्तन गर्दै विद्यालय तहदेखि नै खेलकुद विकास गरिने उहाँले स्पष्ट पार्नुभयो ।

    खेलकुद र शिक्षा क्षेत्रमा बढ्दो राजनीतिकरणप्रति चिन्ता व्यक्त गर्दै मन्त्री पोखरेलले यसलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जहाँ राजनीति आवश्यक छ त्यहाँ भइरहेको छैन, जहाँ आवश्यक छैन त्यहाँ भइरहेको छ, अब सम्बन्धित क्षेत्रमा विज्ञ र अनुभवी व्यक्तिलाई जिम्मेवारी दिने नीति अवलम्बन गरिनेछ ।”

    मन्त्री पोखरेलले आधुनिक प्रविधि र विश्वव्यापी परिवर्तनलाई ध्यानमा राख्दै नेपालको शिक्षा र खेलकुद क्षेत्रलाई प्रतिस्पर्धी, व्यवस्थित र परिणाममुखी बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

    यस्तो छ मन्त्री पोखरेलको जीवनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट काठमाडौँ क्षेत्र नं ५ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्नुभएको हो ।

    नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा (एमाले)का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापालगायतका स्थापित दलका शीर्ष नेतालाई निर्वाचनमा हराएर उहाँले चर्चा कमाउनुभएको थियो । विसं २०५२ फागुन १ गते काठमाडौँमा जन्मनुभएका पोखरेलले वैकल्पिक राजनीतिक धारलाई अगाडि बढाउँदै आउनुभएको थियो । विवेकशील साझा पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका पोखरेल विसं २०७४ मा उज्ज्वल थापाको चुनावी अभियानमा सक्रिय हुनुभएको थियो ।

    कानुन विषयमा काठमाडौँ विश्वविद्यालयबाट स्नातक हासिल गर्नुभएका उहाँले १२ कक्षाको अध्ययन भने संयुक्त राज्य अमेरिकामा पूरा गर्नुभएको हो । विसं २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ–५(क) प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिनुभएका उहाँ त्यतिबेला पराजित हुनुभएको थियो । त्यसपछि पोखरेलले काठमाडौँ महानगरपालिकामा शिक्षा तथा सहायकविज्ञ तथा सहरी योजनामा सहायक विज्ञका रूपमा काम गर्नुभयो ।