चैत १३, २०८२ शुक्रबार

काठमाडौँ, १३ चैतः नवनियुक्त गृहमन्त्री सुधन गुरुङले ‘भिआइपी मुभमेन्ट’का नाममा नागरिकले दुःख पाउने अवस्था अन्त्य गर्न आग्रह गर्नुभएको छ । गृह मन्त्रालयमा आज पदभार ग्रहण गरेपछि कर्मचारीलाई निर्देशन दिने क्रममा उहाँले परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्नेमा जोड दिनुभयो ।
 
    जेनजी आन्दोलनको अगुवाइ गर्नुभएका मन्त्री गुरुङले आन्दोलनलगत्तै मन्त्रीहरुको सेवासुविधा खारेजी र सवारीका क्रममा नागरिकलाई सास्ती दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभएको थियो । सांसदको सुविधा जनतालाई नै समर्पण गर्ने घोषणा गर्नुभएका मन्त्री गुरुङ आफैँ निजी कार चलाएर मन्त्रालयबाट बाहिरिनुभएको थियो ।
 
    “नागरिक तहमा ‘भिआइपी मुभमेन्ट’ले गाह्रो पार्दै आएको छ, यस क्रममा नागरिकले दुःख पाउनु भएन, यस्तो कार्य नगर्न सबै मन्त्रीहरुलाई आग्रह गर्दछु”, मन्त्री गुरुङले भन्नुभयो ।
 
    एकद्वार प्रणालीमार्फत सेवा प्रवाह

    मन्त्रालयमा पदबहालीपश्चात् जेनजी सहिद परिवार र घाइतेलाई साक्षी राखेर गृहमन्त्री गुरुङले मन्त्रालय तथा मातहतको निकायबाट हुने सेवा प्रवाहलाई एकद्वार प्रणालीमार्फत प्रदान लैजाने निर्णय गर्नुभयो ।
 
    मन्त्री गुरुङले जेनजी आन्दोलनका सहिद परिवार र घाइेतलाई राज्यका तर्फबाट सुविधा दिनका लागि विभिन्न मन्त्रालयका प्रतिनिधि रहेको कार्यदल गठन गरिने बताउनुभयो ।