चैत १४, २०८२ शनिबार

म्याग्दी, १४ चैतः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुपर्ने बाध्यता हटेको छ । 

चारकोठे नयाँ भवन निर्माण भएपछि तीन दशक पुरानो पानी चुहिने, पर्खाल चिरा परेको र भत्कने अवस्थामा रहेको जोखिमयुक्त भवनमा बसेर पठनपाठन गर्नुपर्ने विद्यार्थी शिक्षकको समस्या हटेको हो । 

कक्षा कोठा भवन बनेपछि सुरक्षित वातावरणमा सहज रुपमा पठनपाठन हुन थालेको विद्यालयका प्रधानाध्यपक मैयाकुमारी बरुवालले बताउनुभयो । “यसअघि कक्षाकोठा भवन जीर्ण हुँदा डरत्रास थियो”, उहाँले भन्नुभयो, “सुरक्षित भवन बनेपछि सुरक्षित भएर ढुक्कसँग पठनपाठन गर्ने वातावरण सिर्जना भएको छ ।”

कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा हाल २२ जना विद्यार्थी रहेका छन् । अन्नपूर्ण गाउँपालिका र जर्मनको हिमालय ‘फ्रेण्ड्स इभी’को आर्थिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर चारकोठे कक्षाकोठा भवन बनाएका हुन् । कक्षाकोठाको साथै शौचालय पनि निर्माण भएको छ । 

अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा रु २० लाख र चालु आर्थिक वर्षमा रु पाँच लाख ५० हजार बजेट विनियोजन गरेको उक्त भवन निर्माणका लागि जर्मन संस्थाले रु एक लाख ४९ हजार सहयोग गरेको वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । 
---