चैत १४, २०८२ शनिबार

भियना, १४ चैत : अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित संयन्त्रहरूमा भएको आक्रमणपछि कुनै पनि विकिरण जोखिम देखिएको छैन ।

निकायले इरानको जानकारीअनुसार केन्द्रीय क्षेत्रमा रहेको खोनदाबको भारी पानी उत्पादन केन्द्रमा आक्रमण भएको थियो । उक्त केन्द्रमा घोषणा गरिएको कुनै आणविक सामग्री नभएको र त्यहाँबाट कुनै विकिरण जोखिम नदेखिएको बताइएको छ।

त्यस्तै, खुजेस्तान प्रान्तमा रहेको इस्पात उत्पादन गर्ने उद्योगमा पनि आक्रमण भएको जानकारी दिइएको छ । उक्त उद्योगमा औद्योगिक मापनका लागि बन्द रेडियोधर्मी स्रोतहरू प्रयोग गरिन्छ । निकायले उक्त स्थानबाट बाहिर कुनै विकिरण फैलिएको पुष्टि नभएको जनाएको छ ।

यी आक्रमणहरू फागुन १६ गतेदेखि सुरु भएको अमेरिका–इजरायल–इरानबीचको करिब एक महिनादेखि जारी द्वन्द्वका क्रममा भएका हुन् । हालसम्म ती पक्षहरूबीच भीषण सङ्घर्ष जारी रहे पनि युद्धविरामतर्फ कुनै ठोस प्रगति भएको छैन ।