वासिङ्टन, १४ चैत : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले शुक्रबार पाकिस्तानसँग १ अर्ब २० करोड अमेरिकी डलर बराबरको नयाँ सहायता प्याकेज खुलाउने विषयमा कर्मचारी–स्तरको सहमति गरेको घोषणा गरेको छ ।
दक्षिण एशियाली राष्ट्र पाकिस्तान अर्जेन्टिना र युक्रेनपछि आईएमएफको सबैभन्दा ठूलो ऋणीमध्ये एक हो ।
आईएमएफले एक विज्ञप्तिमा पाकिस्तान सरकारको ‘हालै प्राप्त व्यापक आर्थिक तथा वित्तीय स्थिरतालाई जोगाउन सुदृढ र सावधानीपूर्ण आर्थिक नीतिहरू अवलम्बन गर्ने प्रतिबद्धता, साथै आर्थिक वृद्धि तीव्र बनाउन संरचनात्मक सुधारलाई गहिरो बनाउने र अस्थिर ऊर्जा मूल्यका कारण कमजोर वर्गमा पर्ने प्रभाव कम गर्न सामाजिक सुरक्षालाई सुदृढ गर्ने’ प्रयासको प्रशंसा गरेको छ ।
आईएमएफका अनुसार उक्त रकम वितरण कार्यकारी बोर्डको स्वीकृतिमा निर्भर रहनेछ ।
यो सहमति स्वीकृत भएमा पाकिस्तानले एक्सटेन्डेड फन्ड फेसिलिटी अन्तर्गत १ अर्ब डलर र रेजिलिएन्स तथा सस्टेनेबिलिटी फेसिलिटी अन्तर्गत करिब २१ करोड डलर प्राप्त गर्नेछ ।