चितवन, १४ चैतः प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि विचारहरु गाउँसम्म पु¥याउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।
प्रजातान्त्रिक विचार समाज चितवनको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि दल र आमनागरिकमा यसको भाष्य के हो भनेर बुझाउन आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले देश र जनताले प्राप्त गरेको अधिकारको रक्षा गर्ने समय आएको बताउनुभयो । जनताले प्राप्त गरेको अधिकार रक्षाका लागि आफ्ना विचारहरु गाउँसम्म पु¥याएर जनतालाई बुझाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राज्य सत्ता कहिले काँही निरंकुश बन्न सक्छ । त्यसको विषयमा आमजनतालाई बुझाउन आवश्यक छ ।”
समाजका पूर्वअध्यक्ष केदारनरसिंह केसीले आमजनताले लोकतन्त्रको महसुस हुने गरी यसको अर्थ जनतामा बुझाउन आवश्यक रहेको बताउनुभयो । आमजनताको अधिकार रक्षाका लागि प्रजातान्त्रिक विचार समाजले आफ्नो सन्देश गाउँसम्म पु¥याउन आवश्यक रहेको उहाँको भनाइ थियो । ज्ञान र विचारको पुञ्जको रुपमा समाजमा सकारात्मक भूमिका खेल्न यो समाज सक्रिय हुन आवश्यक रहेको उहाँको बताउनुभयो ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्वप्रमुख दयाराम पौडेल, नेपाल शिक्षक सङ्घ चितवनकी अध्यक्ष इन्दिरा मरहठ्ठाले समाजमा प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि आवश्यक सन्देश प्रवाह गर्न समाजको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । देशमा जब समस्या पर्छ त्यो समयमा शिक्षित वर्ग एक भएर लाग्न आवश्यक रहेको उहाँहरुको भनाइ थियो ।
समाजका जिल्ला अध्यक्ष सुरेशचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव विकास पौडेल, कोषाध्यक्ष सुनिता सडौलाले क्रमश साङ्गठनिक र आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
---