अत्तरिया (कैलाली), १४ चैतः कैलालीको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीकी मनिषा चौधरीले कृषि कर्मबाट सुरु गरेको दुई वर्ष भयो । व्यावसायिक रुपमा तरकारीखेती तथा बङ्गुरपालन गर्दै आउनुभएकी चौधरी यसैमा रमाइरहनुभएको छ ।
एक बिघा जग्गा भाडामा लिएर व्यावसायिक तरकारीखेती र बङ्गुरपालन सुरु गर्नुभएका उहाँले अहिले तरकारी बिक्रीबाट मात्रै वार्षिक रु चार लाखसम्म आम्दानी गरिरहनुभएको छ ।
सिजनअनुसारका तरकारी लगाउने गरेको तथा बाह्रै महिना तरकारी उत्पादन गर्ने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तरकारीबाट दैनिक आम्दानी पनि हुन्छ । हाल दैनिक रु एक हजार ५०० देखि दुई हजारसम्मको तरकारी बिक्री हुन्छ ।”
उहाँले तरकारी बजारमा सहजै बिक्री हुने तथा बारीबाटै पनि बिक्री हुने बताउनुभयो । चौधरीले पछिल्लो समय बङ्गुरपालनबाट पनि राम्रै आम्दानी हुन थालेको बताउनुभयो ।
उहाँले ठूला बङ्गुर तथा पाठापाठी बिक्रीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “दुई वर्षअघि एउटा बङ्गुरबाट व्यवसाय सुरु गरेकी थिए । अहिले बङ्गुर बढ्दै गएका छन् । अहिले खोरमा माउ र भाले गरी १९ वटा ठूला बङ्गुर तथा ३० वटा पाठापाठी छन् ।”
उहाँका अनुसार प्रतिपाठापाठी रु पाँच हजारदेखि छ हजारका दरले बिक्री हुन्छन् । ठूला बङ्गुर प्रतिकिलो रु ३२० का दरले बिक्री हुन्छन् । उहाँले डिउरो, लेन्ड्रेसलगायत उन्नत जातका बङ्गुरपालन गर्दै आएको बताउनुभयो । उहाँको सात जनाको परिवार छ । यसैबाट भएको आम्दानीले सबै घरखर्च चलेको उहाँले सुनाउनुभयो ।