चैत १४, २०८२ शनिबार

दमौली (तनहुँ), १४ चैतः तनहुँको बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाका विभिन्न होमस्टे (घरबास)हरूलाई एउटै सर्किट (क्षेत्र)मा आबद्ध गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सामुदायिक होमस्टे सर्किट तथा पर्यटन प्रवर्द्धन कार्यक्रम’ सुरु भएको छ । ग्रामीण पर्यटनलाई व्यवस्थित, दिगो र आयमुखी बनाउने लक्ष्यसहित होमस्टे सर्किटको अवधारणसँगै पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु गरिएको हो ।

    कार्यक्रमअन्तर्गत बन्दीपुर-२ को मोहोरिया र रामकोट, व्यास-१४ कुलुङ, केशवटार, रुम्सी, बन्दीपुर-६ धरमपानी, व्यास-१२ कमलाबारी, बन्दीपुर-५ कोरिखा तथा बन्दीपुर सामुदायिक होमस्टेमा अध्ययन अवलोकन गर्ने कार्यक्रम रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आज पहिलो दिन मोहोरिया, रामकोट, कुलुङ, केशवटार र रुम्सीमा अवलोकन सम्पन्न गरिएको छ ।

    आइतबार धरमपानी होमस्टे, ऐतिहासिक हुस्लाङकोट गढी, कमलाबारी, कोरिखा र बन्दीपुर सामुदायिक होमस्टेमा अध्ययन अवलोकन गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार बन्दीपुर-केशवटार होमस्टे सर्किटमार्फत छुट्टाछुट्टै रहेका होमस्टेलाई एकीकृत गर्दै समग्र पर्यटन प्रवर्द्धन गर्ने योजना अघि बढाइएको हो । 

    “यो सर्किटले पर्यटकलाई एउटै यात्रामा विविध गाउँ, संस्कृति र जीवनशैली अनुभव गर्ने अवसर दिने विश्वास छ”, अध्यक्ष थापाले भन्नुभयो । करिब ७५ किलोमिटर चक्रीय दूरीमा फैलिएको उक्त सर्किटले १४ होमस्टेसहित २० भन्दा बढी गाउँलाई समेट्नेछ । सर्किटभित्र गुरुङ, मगर, नेवार, क्षेत्री, ब्राह्मण तथा दलित समुदायबाट सञ्चालित होमस्टेमा स्थानीय खाना, वेशभूषा, संस्कार–संस्कृति र परम्परागत जीवनशैली नजिकबाट अनुभूति गर्न सकिनेछ ।

    कार्यक्रममार्फत होमस्टे सञ्चालकलाई आफ्ना सेवासुविधा गुणस्तर सुधार, सरसफाइ, आतिथ्य सत्कार, स्थानीय उत्पादनको प्रवर्द्धन, कलासंस्कृतिको संरक्षण र प्रवर्द्धन, डिजिटल प्रचारप्रसारलगायत विषयसम्बन्धी अभिमुखीकरण दिइने जनाइएको छ । साथै, सर्किटभित्र पर्ने ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाहरूको पहिचान र संरक्षणमा पनि जोड दिइनेछ ।

    यस सर्किटले आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ अवधि लम्ब्याउने, स्थानीय उत्पादनको खपत बढाउने र युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ । ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्दै बसाइँसराइ न्यूनीकरणमा समेत यसले योगदान पुर्‍याउने विश्वास लिइएको अध्यक्ष थापाले बताउनुभयो । 

    मुलुकको पहिलो व्यवस्थित होमस्टे सर्किटका रूपमा विकास गर्ने लक्ष्यसहित अघि बढाइएको यस योजनाको प्रारम्भिक छलफल भइसकेको छ । उक्त छलफलमा पहिलो चरण दुवै पालिकाका जनप्रतिनिधि, पर्यटन तथा संस्कृतिविद्, पर्यटन व्यवसायी र प्राविधिक टोलीले सर्किटभित्रका सबै होमस्टे गाउँहरूको स्थलगत अध्ययन र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको थियो ।

    पर्यटनविज्ञ हरिसिंह गुरुङका अनुसार बन्दीपुरले अघि सारेको यो अवधारणा सफल भएमा मुलुकको नमूना ग्रामीण पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्नेछ । “यो केवल पर्यटन होइन, समुदायको समग्र रूपान्तरणसँग जोडिएको अभियान हो । यसले स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउनाका साथै रोजगारीका अवसरहरू सिर्जना गर्नेछ”, उहाँले भन्नुभयो ।