काठमाडौँ, १४ चैतः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नवगठित सरकारलाई बधाई दिएको छ ।
पार्टीका नेता गणेशमान पुनले आज एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनबाट बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शाह नेतृत्वको मन्त्रिपरिषद्लाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो ।
यसैगरी नेकपाले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रियामा निष्पक्षता, कानुनी प्रक्रिया र विधिको शासन कायम गर्न सरकारलाई आग्रह गरेको छ । सरकारलाई कुनै पनि कदम चाल्दा विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लङ्घन नगर्न आग्रह गरिएको छ ।
राजनीतिक पूर्वाग्रहका आधारमा निर्णय नगर्न सुझाव दिँदै विज्ञप्तिमा द्वन्द्व सिर्जना हुने कुनै पनि गतिविधि नगर्न सरकारसमक्ष अनुरोधसमेत गरिएको छ ।
नेकपा संयुक्तको ध्यानाकर्षण
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले पनि गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयको औचित्य पुष्टि गर्न माग गरेको छ ।
पार्टी कार्यवाहक अध्यक्ष घनश्याम भुसालद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषद्को पहिलो बैठक गरिएको निर्णयले थप द्वन्द्व आउन सक्नेमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।