तेह्रथुम, १४ चैतः नेपालको पूर्वी भूभागमा मूल रूपमा बसाबास गर्ने याक्थुङ (लिम्बू) समुदायले उद्यौली र उभौली गरी वर्षमा दुई पटक प्रकृति पूजा गर्ने गर्दछन् । उद्यौली अर्थात् चासोक तङनाममा पाकेका अन्नबाली मानिसले प्रयोग गर्नुपूर्व पितृ र प्रकृतिलई चढाउने प्रचलन छ । उभौली अर्थात् यक्वा तङनाममा छरपोख गर्नुपूर्व प्रकृतिको पूजा गर्ने परम्परा छ ।
संवत् फेरिने समय चैत र वैशाख महिनामा यो पूजा गर्ने परम्परा रहिआएको आदिवासी जनजाती तेह्रथुम जिल्ला समन्वय परिषद् अध्यक्ष बलदेव तुम्बाहाङफेले बताउनुभयो । उहाँका अनुसार सोहीअनुसार आज तेह्रथुमका विभिन्न स्थानमा यक्वा पूजा गरी यक्वा तङनाम मनाइएको छ ।
तुम्बाहाङफेका अनुसार जिल्लाका विभिन्न स्थानमा याक्थुङ (लिम्बू) समुदायले यक्वा र गैरलिम्बूले धुले, धुर र संसारीका नामले सामूहिक रूपमा पूजा गर्ने परम्परा रहेको छ । “विशेषतः यक्वा पूजा किसानले छरपोख गर्नुपूर्व कुनै किसिमको प्राकृतिक विपद् नआओस्, काम गर्ने क्रममा अप्रिय घटना नहोस्, अन्नबाली राम्ररी उम्रियोस् भनेर गरिने पूजा हो”, उहाँले भन्नुभयो ।
यो पूजामा गाउँटोलका सबै जम्मा भएर स्थानीय पानीको स्रोत भएको स्थान अर्थात् मुहानमा गएर सामूहिक पूजा गर्ने आदिवासी जनजातीका जिल्ला समन्वय परिषद् अध्यक्ष तुम्बाहाङफेले जानकारी दिनुभयो । यक्वा पूजालाई गैरलिम्बूले धुले पूजा पनि भन्ने गर्दछन् । यस अवसरमा एकापसमा हर्षबढाइ गर्दै सामूहिक भोजनसमेत गरिन्छ ।
यसमा प्रकृतिको पूजा गरिसकेपछि यहाँ चढाइएको अन्नबालीका बीउ घरमा लगेर खेतबारीमा छरेपछि मात्रै किसानले खेतबारीमा अन्नबाली छरपोख गर्ने बाटो खुल्ने जनविश्वाससहित परम्परा मनाइँदै आइएको फेदाप गाउँपालिका-३ तोक्माका डम्बरबहादुर लिम्बूले बताउनुभयो । आआफ्नो गाउँसमाजमा नौमति बाजाका साथमा विभिन्न परम्परागत खेल, नाचगानलगायत कार्यक्रम गर्दै जिल्लाभरि हर्षोल्लासका साथ यक्वा पूजा गरिएको उहाँको भनाइ छ ।
बाबुबाजेको पालादेखि हरेक साल सामूहिक रूपमा गर्दै आइएको यो पूजालाई आफूहरूले यथावत् राखी सांस्कृतिक परम्परालाई जगेर्ना गरेको म्याङलुङ नगरपालिका-१० तम्फूलाका जयप्रसाद लिम्बूले बताउनुभयो ।
“बिहान पूजा गरी दिनभरी छेलो हान्नेलगायत परम्परागत खेल, नाचगान गरी साँझ झ्याम्टाको तालमा सामूहिक रूपमा एकै स्वरमा ‘पानी दे दे यतिले त पुगेन अझै दे दे’ भनेर प्रकृतिलाई आह्वान गरिन्छ । त्यसरी पूजाबाट घरघरमा सत्बी बल्बी (बीउबिजन) बाड्दै नारासहित पानी माग्नेलाई घरका सदस्यले पानीले छ्याप्दै रमाइलो गर्छन् । लिम्बुहरूको यक्वा पूजा र गैरलिम्बूले धुर, धुले, संसारी पूजा नामले यसलाई हर्षाेल्लासका साथमा मनाउने गर्दछन्”, उहाँले भन्नुभयो ।
समाजका सबै जातजातीको परम्परा मिश्रण रहेको यो पूजा परम्परागत संस्कार मात्र नभएर समाजमा एकता र सहिष्णुताप्रतिको भावनालाई अझ बलियो बनाउने माध्यमका रूपमा रहेको म्याङलुङ-१० खाल्डेका अनन्त अधिकारीले बताउनुभयो । “लोकजीवन पद्दतिसँग जोडिएका यस्ता परम्परागत प्रचलन सामुदायिक एकताको महत्वपूर्ण कसी हुन् । त्यसैले यस्ता परम्परागत प्रचलनको संरक्षणमा सबैले चासो दिनु आवश्यक छ”, उहाँले भन्नुभयो ।