टीकापुर (कैलाली), १४ चैतः कवितामा नारीस्वर एक वैचारिक आन्दोलन भएको कवयित्रीहरूले उल्लेख गरेका छन् । आज यहाँ टीकापुरमा आयोजित साहित्य महोत्सवमा सहभागी कवयित्रीहरूले कवितामा नारीस्वर स्वअस्तित्वको खोजी र अस्तित्वको लडाइँका रूपमा अघि बढिरहेको धारणा राखे ।
‘समकालीन कवितामा नारीस्वर’ विषयमा भएको छलफलमा कवि तथा लेखक विमला तुम्खेवाले नेपाली समाजमा कवितामा महिलाको अलग अस्तित्वको लडाइ चलिरहेको बताउनुभयो । “समाजको संरचना, परिस्थितिलगायत कारणले महिला लेखकलाई त्यति सहज छैन”, उहाँले भन्नुभयो, “हामीले लेखन सामग्रीका हिसाबले पनि वैचारिक, सामाजिक, आन्दोलन गरिरहेका छौँ । कवितामार्फत आन्दोलनसहित लडिरहेका, बोलिरहेका छौँ ।”
कवि तुम्खेवाको अनुभवमा कवितामा पितृसत्तात्मक समाजको प्रभाव झल्किन्छ । “राम्रो लेखनको ढुकढुकी प्रेम हो । साहित्यमा प्रेमको यात्रा हुँदै निर्माणको यात्रामा पुग्छौँ”, उहाँ भन्नुहुन्छ, “महिला लेखकका लागि साहित्यमा समस्या, लडाइँ, चुनौती छ, तर लेखनमा महिलाहरु कुनै पुरुष साहित्यकारभन्दा कम हुनुहुन्न ।”
कवयित्री सुमिनाको बुझाइमा पनि कवितामा नारीस्वर स्वअस्तित्वको खोजी र अस्तित्वको लडाइँ हो । “हरेक स्रष्टा आफ्नो समयको कथावाचक हो”, उहाँ भन्नुहुन्छ, “महिलाले साहित्यमार्फत आफ्नो पीडा, सुख दुःख कवितामार्फत व्यक्त गरिरहेका छौँ ।”
सुमिना कवितामा प्रेम, भावना, स्वीकारोक्ति दिएर पीडा लेख्दा ताली पाउने तर उत्पीडनविरुद्ध आवाज उठाउँदा, पितृसत्तामाथि प्रश्न गर्दा साहित्य यस्तो हुन्छन् भनेर प्रश्न गर्ने अभ्यास गलत भएको बताउनुहुन्छ ।
कवयित्री देवकी तिमिल्सिना नेपाली कवितामा नारीस्वर पहिचानको लडाइँ पनि भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी पहिचानको खोजीकै अभियानमा छौँ । पुरुषवादी सोचबाट माथि उठेर नारी स्रष्टालाई सम्मान र स्वीकार गरिनुपर्छ ।”
अर्का कवयित्री ज्योति जङ्गल लेखन बृहत् क्षितिजमा छरिने बताउनुहुन्छ । “सिर्जना अन्यायविरुद्धको आवाज पनि हो । यो महिलाको सिर्जनाको कसरत हो । सिर्जनाले मानवीय अस्तित्वलाई उजागर गर्छ । समग्र मानव अस्तित्वमा महिलाको पहिचान, सहअस्तित्व र सहयात्रासँगसँगै जानुपर्छ भन्ने चेत बोकेर लागिरहेका छौँ”, उहाँ भन्नुहुन्छ ।
कवयित्री जङ्गल महिलाले लेख्ने कविता र नारी स्वरलाई आक्रोश मात्रै नभई आन्दोलनको आवाजका रूपमा लिनुहुन्छ । “हाम्रा अग्रज कवि पारिजात, तोया गुरुङ, बेन्जु शर्मालगायतका कविताका आडमा हामी नयाँ कविता लेखिरहेका छौँ । महिलाले लेखेको कुरा पीडा मात्र हो भन्ने बुझाइले हेर्न हुँदैन, समाजमा आन्दोलनविना आफुना आवाज सम्बोधन नहुने भएपछि त्यस्तो शैली आएको जस्तो देखिन्छ ।”
कवयित्रीहरूसँग हेमन्त शिशिरले छलफल गर्नुभएको थियो । विसं २०७९ मा स्थापना भएको टीकापुर साहित्य समाजले ‘साहित्यमार्फत सामाजिक सदभाव’भन्ने उद्घोषका साथ बर्सेनि महोत्सव गर्दै आएको छ । यस वर्ष थारू साहित्य तथा संस्कृति विशेषका रूपमा महोत्सव मनाइँदैछ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजनामा महोत्सव भइरहेको छ ।