काभ्रेपलाञ्चोक, १४ चैतः काभ्रेपलाञ्चोकको पनौतीमा आज काव्यगोष्ठी तथा स्रष्टलाई सम्मान कार्यक्रमको आयोजना गरिएको छ । अक्षरमार्गको आयोजनामा पनौतीमा सम्पन्न ‘वसन्त काव्यगोष्ठी तथा सम्मान कार्यक्रम’मा तीन जना स्रष्टालाई सम्मान गरिएको हो ।
कार्यक्रममा तीन दर्जनभन्दा बढी कविले काव्यवाचन गर्दै ‘वसन्त’लाई शब्द र भावमार्फत जीवन्त बनाएका हुन् । यसवर्ष श्रीराम ‘जगतमाया अक्षरमार्ग साधक सम्मान’ पत्रकार सुकृत नेपाललाई, ‘कृष्णसुन अक्षरमार्ग काव्य सम्मान’ साहित्यकार हरिसुन्दर छुकाङलाई तथा ‘कमानसिंह तुलसा स्रष्टा सम्मान’ शैली साहित्य समाजकी मञ्जुश्री प्रधानलाई प्रदान गरिएको छ ।
कार्यक्रममा सम्मानित व्यक्तित्वको योगदान, साहित्यिक यात्रा र समाजमा पु¥याएको प्रभावबारे कार्यक्रममा विस्तृत चर्चा गरिएको थियो । कार्यक्रमका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभू घिमिरेले पनौतीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई स्मरण गराउँदै कविता केवल भाव अभिव्यक्ति मात्र नभई समाज रुपान्तरणको सशक्त माध्यम भएको उल्लेख गर्नुभयो ।
उहाँले महाभारत र रामायणका उदाहरण प्रस्तुत गर्दै कविले के लेख्यो भन्दापनि कसरी लेख्यो भन्ने विषय महत्वपूर्ण हुने बताउनुभयो । साहित्यकार स्नेह सायमीले वसन्तलाई उमेरभन्दा विचारसँग जोड्दै ‘आशा’ कविता वाचन गर्नुभयो । साहित्यकार लक्ष्मी मालीको ‘मेरी छोरी’ कविता वाचनसँगै औपचारिक उद्घाटन गरिएको कार्यक्रममा उहाँले साहित्यको प्रवर्द्धनका लागि वसन्त काव्यगोष्ठी उल्लेखनीय कार्यक्रम भएको धारणा राख्नुभयो । कवि सूर्यप्रसाद लाकोजूले कविताले समाजलाई सकारात्मक परिवर्तनतर्फ लैजाने तर्क गर्नुभयो ।
कार्यक्रममा तीन दर्जन कविले काव्यवाचन गर्नुभएको थियो । काव्यवाचनले समकालीन समाज, राजनीति, नेपाली संस्कार, संस्कृति र व्यक्तिगत अनुभूतिका विविध आयामलाई उजागर गर्नुभएको थियो ।
रमेशजङ थापाको ‘मौरी कमिला र जेनजी’ले पुस्तान्तरणको द्वन्द्व झल्काएको थियो भने सुरेश सैँजूको ‘उत्साही’ले जीवनप्रतिको सकारात्मक ऊर्जा व्यक्त गरेको थियो । मोतिराज बमको ‘समयको रङ’ र वसन्त नकर्मीको ‘रातको प्रथम प्रहर’ले समय र चेतनाको गहिरो विश्लेषण प्रस्तुत गरेको थियोे ।
यसैगरी साहित्यकार रहेना नकर्मीको ‘म कोरु’, शम्भुलाल श्रेष्ठको ‘देश त फुर्सद भए पो बनाउनु’, एलके सुन्दरको ‘कुरा हारजितको हैन’, दिनेशमान प्रधानको ‘नसोध्नु’, पुरुषोत्तम ताम्राकारको ‘मुलुक अब बन्छ रे!’ र रजनी मिलाको ‘तिमीले आत्महत्या गर्नेछाँै सरकार!’का कविताले सामाजिक यथार्थ, राजनीतिक विडम्बना र नागरिक चेतनालाई सशक्त ढङ्गले प्रस्तुत गर्नुभएको थियो ।
ध्रुवकृष्ण ताम्राकारको ‘सुनामीका अर्थहरू’, डा राजेन्द्र कोजूको ‘कमरेडलाई प्रश्न!’, हरिप्रसाद चौँलागाईंको भुङ्गप्रयात छन्दमा रचित ‘सुरक्षा’, विकुनारायण ताम्राकारको ‘हाम्रो पनौती’लगायत रचनाले स्थानीयता र वैश्विक सन्दर्भलाई जोड्ने प्रयास गरेको थियो ।
पूर्णबहादुर श्रेष्ठको ‘हृदयङ्गृत’, ‘शान्ति हराएको देश’, विजयराम कर्माचार्यको ‘देशको माया’ गीत, ध्रुवराज थापाको ‘आगो खेलाउने मान्छे!’, राजेशमान केसीको ‘हाम्रो संस्कृति’ र तुयुकाजी कर्माचार्यको ‘बोका’ले विविध शैलीमा समसामयिक सन्देश दिएका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति घिमिरेले बताउनुभयो ।
कार्यक्रममा रामसुन्दर देउजाका ‘तीन मुक्तक’ले छोटो संरचनाभित्रै जीवनका गहिरा सत्यहरू उजागर गका छन् भने रामकुमार पण्डितको ‘झोले’ले समकालीन समाजको व्यङ्ग्यात्मक चित्र प्रस्तुत गरेका हुन् । भीमप्रसाद काफ्लेको ‘अनुभूतिका चार टुक्रा’ले टुक्राटुक्रा अनुभवलाई एकै सूत्रमा गाँस्दै संवेदनाको बहुआयामिक रूप प्रस्तुत गरेका छन् । विमला शर्माको ‘वसन्त छाइरहोस्’ले आशा, पुनःजागरण र सकारात्मक भावनाको सन्देश प्रवाह गरेको थियो । ब्रह्मप्रिय प्रेमस्वरूपको ‘अव्यक्त सत्य’ नामक संवाद कविताले अभिव्यक्त गर्न गाह्रो लाग्ने सत्यलाई कलात्मक रूपमा उद्घाटन गरेको थियो ।
त्यसैगरी, सुभद्रा अधिकारीको ‘नयाँ पुस्ताको दैनिकी’ले बदलिँदो समय, प्रविधि र पुस्तान्तरणबीचको जीवनशैलीलाई सजीव ढङ्गले चित्रण गर्र्यो भने सुभद्रा दाहालको ‘वसन्त आएको छ’ले समग्र कार्यक्रमको भावनात्मक सार बोकेर नयाँ आशा, ऊर्जा र परिवर्तनको सङ्केत दिँदै गोष्ठीलाई काव्यमय पूर्णता प्रदान गरेको थियो ।
कार्यक्रमका संयोजक सूर्यप्रसाद कोजूले कविताको शक्तिले विविध स्रष्टालाई एउटै सुत्रमा बाँध्ने काम गरेको बताउनुभयो । उहाँले अक्षरमार्गले प्रकाशन कोष र सम्मान कोषमार्फत साहित्यिक गतिविधि निरन्तर अगाडि बढाउँदै आएको जानकारी गराउनुभयो ।