चैत १४, २०८२ शनिबार

झापा, १४ चैतः झापाको भद्रपुरमा सञ्चालित नेपाल-भारत मैत्रीपूर्ण महिला टी-२० प्रतियोगिताको उपाधि भारतको दून हेरिटेज सिलिगुडीले जितेको छ ।आज भएको फाइनल खेलमा भारतको अलपाइन स्पोर्टिङ क्लब सिक्किमलाई दुई रनले पराजित गर्दै सिलिगुडीले उपाधि जितेको हो ।

    वर्षाका कारण १० ओभरमा सीमित गरिएको खेलमा टस हारेपछि पहिलो ब्याटिङका लागि मैदानमा उत्रिएको सिलिगुडीले निर्धारित ओभरमा ७४ रन बनाएको थियो । सिक्किमले निर्धारित १० ओभरमा ७२ रन मात्र बनाएको थियो ।

    नेपाल-भारतमैत्री सङ्घ कोशी प्रदेशको आयोजनामा पहिलो पटक आयोजित प्रतियोगिताको उपाधि जितेसँगै सिलिगुडीले नगद रु ८० हजार पुरस्कारसहित शिल्ड प्राप्त गरेको छ भने सिक्किमले नगद रु ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । 

    प्रतियोगितामा सहभागी तेस्रो टिम नेपालको मिलन क्रिकेट क्लब झापाले रु १० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ द म्याचको पुरस्कार विजेता टिमकी तनुजा सरकारले प्राप्त गरेकी छिन् । प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर विजयी टिमका ह्याप्पी सरकार र सर्वोत्कृष्ट बलर विजयी टिमका हितन राय घोषित भएकी हुन् । म्यान अफ द सिरिजको पुरस्कार भने उपविजेता टिमकी मरिन सुब्बाले प्राप्त गरेकी छिन् । 

    आयोजक नेपाल-भारतमैत्री सङ्घ कोशी प्रदेशका अध्यक्ष छत्रबहादुर गिरीको अध्यक्षतामा समापन समारोहमा भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ठ नन्दनले नेपाल-भारतबीच अत्यन्त सुमधुरसम्बन्ध रहेको स्मरण गराउँदै खेलकुद माध्यमबाट त्यो सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको थियो ।