काठमाडौँ, १७ चैत : पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीयस्थल सुन्दहको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको वृतचित्रको ‘प्रिमियर’ गरिएको छ ।
उक्त गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा आज वृतचित्रको ‘प्रिमियर’ गरिएको हो । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन्दहलाई अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै विशेष गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताउनुभयो । उहाँले त्यहाँको विकासका लागि पूर्वाधार निर्माण, प्रभावकारी प्रचारप्रसार र समन्वयात्मक पहल आवश्यक रहेकामा जोड दिनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “वृतचित्रमा सुन्दहको वास्तविक सौन्दर्यलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ । अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र स्थानीय तहबीच सहकार्य बढाएर सुन्दहको प्रवर्द्धनलाई थप व्यवस्थित बनाउँदै लैजानुपर्छ ।”
उहाँले आगामी बजेटमार्फत पुराना योजनालाई निरन्तरता दिने र रुकुम पूर्वका पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि बजेट व्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
लुम्बिनी प्रदेशसभा सदस्य दिलकुमारी बुढाले सुनदह पर्यटन प्रवद्र्धनमा आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सुनदहलाई विशिष्ट भौगोलिक विशेषता बोकेको गन्तव्यका रुपमा चर्चा गर्नुभयो । उहाँले सुन्दहसहित रुकुम पूर्वका पर्यटकीय गन्तव्यको ‘ब्रान्डिङ’ गर्नुपर्नेसमेत बताउनुभयो ।
गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले सुनदहमा अपार पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै यसको प्रवर्द्धनका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले सांस्कृतिक रूपमा पनि समृद्ध रहेको गाउँपालिकाको विकासका लागि एकीकृत रूपमा पर्यटन विकास अगाडि बढाइने बताउनुभयो ।
पुथा उत्तरगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष बमबहादुर बुढाले यस क्षेत्रको पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले २८ मिनेटको वृतचित्रले सुन्दहलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटन बजारमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
समुद्री सतहबाट चार हजार ४३५ मिटर उचाइमा रहेको सुन्दह प्राकृतिक, जैविक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्णस्थलका रूपमा चिनिन्छ । यहाँ रेड पाण्डा, कस्तुरीलगायत दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गी, यार्सागुम्बा जस्ता बहुमूल्य जडीबुटी पाइने गरेका छन् ।