चैत १७, २०८२ मंगलबार

विराटनगर, १७ चैतः कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

    बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले विधेयक पारित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो । सभामुख सिर्जना दनुवारले उक्त प्रस्ताव निर्णयार्थ पेस गर्नु भएपछि सर्वसम्मतले पारित गरिएको हो । 
    
    यसअघि कोशी प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले विधेयक संशोधनमा पाँच बुँदामा प्रस्ताव राख्नुभएको थियो । मन्त्री पराजुली उक्त प्रस्ताव स्वीकार गर्नु भएपछि प्रस्तावक भण्डारीले उक्त प्रस्ताव फिर्ता लिनुभएको थियो ।

    आजै सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धमा मन्त्री रामप्रसाद मेहताले जवाफ दिनुभयो । उहाँले भाषा आयोगबाट सिफारिस भई आएको मैथिली र लिम्बू भाषा सरकारी कामकाजको भाषा बनाउन बनाइएको विधेयक विषयगत समितिमा छलफल भइरहेको जानकारी दिनुभयो । 

सभासभा सदस्य खिनु लङ्वा लिम्बूले राखेको जिज्ञासामा मन्त्री मेहताले आगामी बजेट अधिवेशनमा दलित सशक्तीकरण विधेयक पनि पेस गरिने बताउनुभयो ।    
    आजकै बैठकमा सुशासन तथा योजना समितिका सभापति खगेश्वरी पौडेलले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।

शून्य समय

    शून्य समयमा कोशी प्रदेशसभा सदस्य सपना दर्जी, सिर्जना राई, मीना श्रेष्ठ, राधाकृष्ण खनाल, निरन राई र तारादेवी ढकालले समसामयिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो । सभाको अर्को बैठक बुधबार अपराह्न १ः०० बजे बस्नेछ ।