जुम्ला, १७ चैतः अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतमा जुम्लाका आठ स्थानीय तहसम्बन्धी एक सय २६ वटा उजुरी परेका छन् ।
कार्यालयका सूचना अधिकारी धर्मराज बुढाले चालु आर्थिक वर्षको फागुनसम्म स्थानीय तहका अनियमितता तथा भ्रष्टाचारसम्बन्धी विभिन्न उजुरी परेका र तीमध्ये ३५ वटा फर्छ्यौट गरिएका बताउनुभयो । तीमध्ये सबैभन्दा बढी चन्नदनाथ नगरपालिकाका ५२ वटा उजुरी परेकामा १३ वटा फर्छ्यौट गरिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै, गुठीचौर गाउँपालिकाका २३ उजुरीमध्ये नौ, पातारासीको ११ वटा उजुरीमध्ये चार, तातोपानी गाउँपालिकाका नौ उजुरीमध्ये दुई, हिमा गाउँपालिकाका सात वटामध्ये एक, तिलाका नौ वटामध्ये दुई, सिञ्जाका चार वटामध्ये दुई र कनकासुन्दरीका ११ उजुरीमध्ये दुई वटा फर्छ्यौट गरिएका सूचना अधिकारी बुढाले बताउनुभयो ।
आयोगले स्थानीय तहका उजुरी प्रत्येक वर्ष बढ्दै गएको जनाएको छ । आयोग प्रदेश कार्यालयअन्तर्गत कर्णाली प्रदेशका १० सहित लुम्बिनी प्रदेशको पूर्वीरुकुम जिल्ला रहेको छ ।