चैत १८, २०८२ बुधबार

    काठमाडौँ, १८ चैतः रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेको पर्यटकीय स्थल सुनदहको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको वृत्तचित्र सार्वजनिक गरिएको छ । 

    पुथा उत्तरगङ्गा गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा मङ्गलबार भएको सार्वजनिक समारोहमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनदहलाई अन्तर्राष्ट्रिय स्तरमा प्रबद्र्धन गर्दै विशेष गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताउनुभयो । उहाँले पूर्वाधार निर्माण, प्रभावकारी प्रचारप्रसार र समन्वयात्मक पहल आवश्यक रहेको बताउनुभयो । उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र स्थानीय तहबीच सहकार्य बढाएर सुनदहको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । 

    लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दिलकुमारी बुढाले सुनदहलाई स्वर्गबाट चोइटिएर खसेको टुक्राको सङ्ज्ञा दिँदै आन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमण गर्न आग्रह गर्नुभयो । उहाँले यसको प्रवद्र्धनमा आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । 

    नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सुनदहलाई विशिष्ट भौगोलिक विशेषता बोकेको गन्तव्यका रुपमा उल्लेख गर्नुभयो । उहाँले सुनदहसहित रुकुम पूर्वका  पर्यटकीय गन्तव्यहरुको ब्रान्डिङ गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पुथा उत्तरगङ्गाका अध्यक्ष पुनिराज घर्ती, पुथा उत्तरगङ्गा–३ का वडाध्यक्ष बमबहादुर बुढालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । 

    समुद्री सतहबाट चार हजार ४३५ मिटर उचाइमा रहेको सुनदह प्राकृतिक, जैविक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थलका रूपमा चिनिन्छ । यहाँ रेड पाण्डा, कस्तुरीलगायत दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गी, यार्सागुम्बाजस्ता बहुमूल्य जडीबुटी पाइन्छन् ।