निजगढ (बारा), १८ चैतः पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा आज दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुङ्गाना र निजगढ नगरपालिका–६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।
दुर्घटनामा घाइते भएका ढुङ्गानालाई उपचारका लागि एलएस न्यूरो अस्पताल गण्डक र श्रेष्ठलाई कलैयास्थित प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याइएलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो ।
सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्र.२–०४२प ९८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बागमती प्र.३–००४प ३६६१ नम्बरको मोटरसाइकल निजगढ नगरपालिका–९ पश्चिम लच्कामा एकापसमा ठोक्किएको थियो । ढुङ्गानाले ९८२४ नम्बरको मोटरसाइकल र श्रेष्ठले ३६६१ नम्बरको मोटरसाइकल चलाइरहेका थिए ।