चिरञ्जीवी आचार्य
काठमाडौँ, १९ चैत(रासस): पृथ्वीको उत्पत्ति र पूर्वीय संस्कृतिको विकाशसँगै नेपाल तपोभूमिका रूपमा परिचित छ । नेपालमा लाखौँ ऋषिमुनीले कठोर तपस्या गरी ज्ञान प्राप्त गरेका तथ्य धार्मिक ग्रन्थमा वर्णन गरिएका छन् । नेपालका विभिन्न तपोभूमि वर्णितस्थानमा ऋषिमुनीका तपस्याले प्राप्त गरेका ज्ञान विश्वमा विज्ञानको रूपमा परिवर्तन भई प्रयोगमा ल्याइएका छन् । तीमध्ये एक खुट्टाले उभिएर मुक्तिनाथमा तपस्या गरिरहेका भगवान श्री स्वामी नारायणको बालयोगी अवस्था नीलकण्ठ वर्णीको विशेष महत्व छ । प्राचीन योग गुरु पतञ्जलिकृत पुस्तकलगायतमा एउटा खुट्टाको बलमा उभिएर ध्यान गर्ने कठिन विधिको उल्लेख भएको पाइन्छ ।
विसं १८३७ चैत्र ९ गते रामनवमी दिन भारतको अयोध्यामा जन्मिनुभएका भगवान स्वामी नारायणले तपोभूमि नेपालमा आई कठोर साधना, अनुष्ठान, जप, तप, ध्यान, सत्सङ्ग गरी बिताउनुभएको थियो । मानव कल्याणको सङ्कल्प लिएर गृहत्याग गरी चारधाम हुँदै हिमालय पर्वतमालाको कठिन यात्रा गरेको उक्त समयलाई स्वामी नारायणका गाथाकारले निलकण्ठ यात्राको संज्ञा दिएको पाइन्छ । नीलकण्ठ यात्राको सबभन्दा दिव्य समय एक खुट्टाले उभिएर साधना गरेको आकृतिलाई भगवान स्वामी नारायणका अनुयायीले तीव्रतापूर्वक विशाल मूर्तिहरू बनाएर संसारभर प्रचारप्रसार गरेको पाइन्छ ।
आज विश्वका प्रमुख सहर युरोपको लन्डन, अमेरिकाको न्युयोर्क, अफ्रिकाको जोहानसबर्ग, अरबको अबुधाबी, भारतको गान्धीनगर हुँदै नयाँ दिल्लीमा रहेका भव्य अक्षरधाम मन्दिर परिसरमा एउटा विशेष मूर्तिले सबैको ध्यान केन्द्रित गरेको छ । त्यो तपोमूर्तिलाई विश्वमा अलौकिक मानिएको छ । एक खुट्टाले उभिएर कठोर तपस्या गरिरहेका बाल योगी नीलकण्ठ वर्णीको त्यो स्वरूप वास्तवमा नेपालको पवित्र हिमालय काख विशेषगरी मुक्तिनाथ क्षेत्रको जीवन्त गौरव एवं निशानी हो । बालयोगीले स्वामी नारायणको रूपधारण गर्नुभन्दा पहिले मुस्ताङमा अवस्थित मुक्तिनाथ धाममा लगालग चार महिनासम्म एक खुट्टाले उभिएर तपस्या गरेको कुरा स्वामी नारायण भगवानको निलकण्ठ जीवन यात्रा पुस्तकमा वर्णन गरिएको छ ।
बिएपीएस स्वामीनारायण संस्थाले विश्वभर फैलाएको यो तपोमूर्तिको महिमाले नेपाल र भारतबीचको धार्मिक–सांस्कृतिक सम्बन्धलाई मात्र जोड्दैन, नेपाललाई विश्वकै एक प्रमुख आध्यात्मिक गन्तव्यका रूपमा उभ्याउने सामथ्र्य राख्दछ र नेपाल योगी र तपस्वीहरुको तपोभूमि हो भन्ने पुष्टि गरेको छ । आधुनिक समयमा स्वामीनारायण सम्प्रदायले बडो तेजीका साथ अत्यन्त विशाल र मनोहारी कलाकृतिले सम्पन्न हिन्दू मठमन्दिर र मूर्तिमार्फत हाम्रो प्राचीन वैभवलाई विश्वसामु प्रतिष्ठित गरेको पाइन्छ । त्यही सिलसिलामा मुक्तिनाथमा एक खुट्टाले ध्यान गरिरहेका स्वामी नारायणको मूर्ति अग्रभागमा आउँछ । यो नेपाली मात्रको शान र गौरवको विषय हो । करिब २५० वर्षअघि १२ वर्षको कलिलो उमेरमा घर त्यागेर हिँडेका नीलकण्ठ वर्णी (भगवान् स्वामीनारायण)ले आफ्नो सात वर्षे भारत वर्षको यात्रामा करिब तीन वर्ष नेपालका विभिन्न भागमा पुगेर तपस्या गर्दै मानव कल्याणसम्बन्धी ज्ञान प्राप्त गर्दै बिताउनुभएको थियो । यो सामान्य भ्रमण मात्र थिएन, यो त ज्ञान, योग र कठोर तपस्याको सङ्गम थियो । उनै भगवान रुपी तपस्वी निलकण्ठ वर्णीको एक खुट्टाले उभिएर तपस्या गरिरहेको १०८ फिट अग्लो मुर्ति बिएपीएस स्वामी नारायण अक्षर धामले २६ मार्च, २०२६ का दिन बिहान ६.३० बजे नयाँदिल्लीमा भव्य समारोहबीच उद्घाटन भएको छ ।
प्राचीन हिन्दू वैभवलाई वास्तुमार्फत जस्ताको त्यस्तै उतार गरेर चर्चामा आएको अक्षरधाम मन्दिर यो विशाल मूर्तिको स्थापना पश्चात् पुनः एकपटक संसारभरका हिन्दू धर्मालम्बीको लागि नयाँ आकर्षणको केन्द्र बन्न पुगेको छ ।
तपस्वी वर्णीको मुक्तिनाथको तपोमूर्तिः स्वामीनारायण सम्प्रदायका लागि मुक्तिनाथ मन्दिरको अगाडि नीलकण्ठ वर्णीले चार महिनासम्म एक खुट्टाले उभिएर गर्नुभएको तपस्या सबैभन्दा ठूलो आस्थाको केन्द्र हो । आज विश्वभरका बीएपीएस मन्दिरमा राखिने तपोमूर्ति यही ऐतिहासिक घटनाको प्रतीक हो । स्वामी नारायणको जीवनमा नेपालको मुक्तिनाथमा उहाँले एउटा खुट्टाले ध्यान गरेको कुरा उहाँको जीवन र साधनाको केन्द्रीय महत्त्वको क्षण हो भन्ने कुरा सिद्ध भएको छ । यसले गर्दा नेपालको मुक्तिनाथ क्षेत्रका प्रति स्वामीनारायण सम्प्रदाय र विश्वभर छरिएर रहेका हिन्दूहरूको पुन एक पटक चासो बढेको छ ।
पर्वतको मोदीबेनी (योग साधना)ः पर्वत जिल्लाको मोदीबेनीमा उहाँले तत्कालीन प्रशिद्ध योग ज्ञाता गोपाल योगीसँग एक वर्ष बसेर अष्टसिद्धि र योगका गुण रहस्य सिक्नुभएको थियो । यो क्षेत्र आज पनि योग र साधनाका अध्येताका लागि प्रसादी स्थल (पवित्रस्थल)का रूपमा परिचित छ ।
बुटवल र काठमाडौँको ऐतिहासिक सम्बन्धः बुटवलको फूलबारीमा चार महिना बसेर राजा मणिमुकुन्द सेनको दरबारमा सत्सङ्ग गराउनु र काठमाडौँमा राजा रणबहादुर शाहको असाध्य गम्भीर रोग निको पार्नुले उहाँको नेपालसँगको सम्बन्ध कति गहिरो र राजकीयस्तरको थियो भन्ने पुष्टि गर्छ साथै बुटवल र काठमाडौँको ऐतिहासिक सम्बन्धको नाता यसले स्थापित गरेको पुष्टि भएको छ ।
आज विश्वभर करोडौँको सङ्खयामा स्वामीनारायण सम्प्रदायका अनुयायी छन् । उनीहरू आफ्नो इष्टदेवताले टेकेको हरेक माटोलाई प्रसादी मान्छन् र जीवनमा कम्तीमा एकपटक ती ठाउँको दर्शन गर्न चाहन्छन् । विशेषगरी गुजराती समुदायमा यो आस्था अझ प्रगाढ बनेको छ । यदि नेपाल सरकारले स्वामीनारायण सर्किटको अवधारणालाई मुर्त रूप दिन सक्ने हो भने यसले नेपालको पर्यटन क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ । मुक्तिनाथ, मोदीबेनी, बुटवलको फूलबारी, काठमाडौँ दरबार स्क्वायर र चतराधामलाई जोडेर एउटा स्पष्ट मार्ग तयार पारी नेपालका तपोभूमिलाई धार्मिक पर्यटकीय स्थलमा विकाश गर्न सकेको खण्डमा मुलुकले प्रशस्तै आन्तरिक र बाह्य पर्यटकबाट आम्दानी गर्न सक्ने निश्चित छ । आर्थिक वर्ष २०८१÷८२ को वार्षिक बजेटमा स्वामी नारायण सर्किटका बारेमा अध्ययनका लागि नेपाल सरकारले पर्यटन तथा संस्कृति मन्त्रालयअन्तर्गतबाट केही रकम छुट्याएको थियो तर बीचमै चुनाव तय भएपछि उक्त कार्यक्रमको बजेट निकासा हुन सकेन ।
नयाँ सरकारले आर्थिक वर्ष ८२÷८३ को बजेटमा स्वामीनारायण सर्किटलाई टेवा पुग्ने गरी कार्यक्रम ल्याउने अपेक्षा गर्न सकिन्छ । भारतको नयाँ दिल्लीस्थित अक्षरधाम जाने लाखौँ पर्यटकलाई त्यहाँ रहेको तपोभूमिको वास्तविकस्थल नेपालको मुक्तिनाथ हो भनेर बुझाउन सके, उनीहरूको अर्को गन्तव्य स्वतः नेपाल हुने र वर्णी सम्प्रदायमा आस्था राख्ने विदेशी धार्मिक पर्यटकको नेपालमा ओइरो नै लाग्ने छ र यसले नेपालका धार्मिक पर्यटकीय स्थल र क्षेत्रको अन्तराष्ट्रिय प्रचार र सम्बन्ध जोड्ने प्रचुर सम्भावना देखिन्छ । नेपालका धार्मिक पर्यटकीय क्षेत्रमा आउने धार्मिक पर्यटकबाट नेपालका होटल, यातायात र स्थानीय हस्तकला क्षेत्रमा ठूलो योगदान पुर्याउने निश्चित छ ।
बिएपीएसजस्ता संस्थाले विश्वभर नेपाली भूमिमा गरिएको तपस्यालाई श्रद्धापूर्वक पुजिरहँदा हामीले यसलाई नेपालको राष्ट्रिय गौरवको विषय बनाउन सक्नुपर्छ । नयाँदिल्लीको अक्षरधाममा बनेको नयाँ तपोमूर्तिले वास्तवमा नेपालकै प्रचार गरिरहेको छ । अबको आवश्यकता भनेको नेपाल सरकार र बिएपीएस संस्थाबीच संस्थागत सहकार्य गरी यी प्रसादीस्थलको संरक्षण र प्रवद्र्धन गर्नु हो । नेपाल केबल प्राकृतिक सुन्दरताको देश मात्र होइन, यो भगवान् स्वामीनारायणजस्ता दिव्य पुरुषको साधना भूमि हो । स्वामीनारायण सर्किटको विकासले नेपाललाई विश्व आध्यत्मिक मानचित्रमा अझ चम्किलो बनाउनेछ । भगवान रुपी तपस्वी नीलकण्ठ वर्णीको विशाल मूर्ति दिल्लीमा अवस्थित अक्षरधाम परिसरमा प्रतिष्ठापित र समुद्घाटन हुनुले त्यो मार्गमा अग्रसर हुन हामीलाई झन अभिप्रेरित गरेको छ । (लेखक चिरञ्जीवी आचार्य आध्यात्मिक अभियन्ता हुनुहुन्छ)