चौतारा (सिन्धुपाल्चोक), १९ चैतः सुख्खायाम सुरु भएसँगै हावाहुरी चल्ने भएकाले जिल्लाका सामुदायिक तथा निजी वनमा हुनसक्ने डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रण रेखा निर्माण गर्न थालिएको छ ।
जिल्लामा हुनसक्ने सम्भावित वन डढेलो रोक्न अग्नि नियन्त्रण रेखा निर्माणसहित अन्य प्रभावकारी उपाय अपनाइने जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । वन डढेलोको जोखिमलाई नियन्त्रण गर्न सामुदायिक तथा निजी वनमा अग्नि नियन्त्रण रेखा निर्माणलगायत अन्य उपाय अपनाउन थालिएको कार्यालयका अधिकृत रमेश दुलालले जानकारी दिनुभयो ।
यसतबेला वनलाई डढेलोबाट जोगाउन जिल्लाका विभिन्न सामुदयिक वन उपभोक्ता समूहका सदस्यहरू अग्निरेखा बनाउन व्यस्त छन् । अन्य ठाउँमा पनि बस्ती नजिकका निजी तथा सामुदायिक वन र जोखिम क्षेत्रमा रहेका ज्वलनशील पदार्थ, घाँसदाउरा, पातपतिङ्गर हटाउने काम भइरहेको छ ।
पाँच सय ३० सामुदायिक वन रहेका सिन्धुपाल्चोकका विभिन्न वनमा अहिले अग्निरेखा छन् भने कतिपय स्थानमा थप्न थालिएको वन अधिकृत दुलालले जानकारी दिनुभयो । विगतमा अग्निरेखा निर्माणले धेरै ठाउँका वनलाई डढेलो हुनबाट जोगाएका उहाँको भनाइ छ ।
अहिले चौतारा, मेलम्ची, नवलपुर, जलवीरे, डाँडापाखारलगायत छ ठाउँका सवडिभिजन कार्यालयले जोखिममा रहेका वन छनोट गरी रु एक लाखका दरले बजेट विनियोजन गरेका छन् । यसमा २० प्रतिशत सामुदायिक वनको लागत सहभागिता रहने वन अधिकृत दुलालले बताउनुभयो । अग्निरेखा निर्माण र समुदायको सहभागिताले वन संरक्षणमा सकारात्मक परिणाम ल्याएको डिभिजन वन कार्यालयले जनाएको छ ।
“डिभिजन वन कार्यालय र सामुदायिक वनहरूको सहकार्यमा वन जोगाउन तथा वन्यजन्तुको जीवन रक्षा गर्ने उद्देश्यले निर्माण गरिएका अग्नि नियन्त्रण रेखाले वनको एक ठाउँमा लागेको आगो अर्कोतिर फैलिन नदिने र फैलिहाले पनि ठूलो क्षति हुनबाट जोगाउँछ । सिन्धुपाल्चोकको करिब एक सय वनमा अग्निरेखा बनाइएको छ”, वन अधिकृत दुलालले भन्नुभयो ।
यहाँका स्थानीय स्थानीय घाँसदाउरा र काठका लागि सामुदायिक वनमा निर्भर रहनुपर्ने भएकाले वनको सुरक्षा आवश्यक छ । अहिले प्रत्येक सामुदायिक वनमा करिब एक हजार २०० मिटर लम्बाइ र पाँच मिटर चौडाइमा अग्नि रेखा निर्माण भइरहेका वन अधिकृत दुलालले जानकारी दिनुभयो ।
अग्निरेखा निर्माणले वनसँगै वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षण हुनुका साथै अग्नि नियन्त्रणमा खटिनेले रोजगारी पनि पाएका सामुदायिक उपभोक्ता महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष सारदाप्रसाद सापकोटाले बताउनुभयो । फागुनदेखि जेठसम्म हावाहुरी लाग्ने, रूखबिरुवामा पुराना पात झरी नयाँ पालुवा पलाउने मौसम भएकाले जङ्गलमा आगलागी तथा डढेलोका घटना बढ्नेसक्ने भन्दै पूर्वतयारी थालिएको उहाँको भनाइ छ ।