चैत १९, २०८२ बिहिबार

दमौली (तनहुँ), १९ चैतः तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको आँखा परीक्षण शिविरअन्तर्गत एक हजार ५०० जनाको निशुल्क आँचा परीक्षण गरिएको छ । उक्त शिविरमा मोतियाविन्दुको समस्या देखिएका एक सय १० जनाको आँखाको शल्यक्रिया गरिएको हो । 

    आइतबारदेखि सुरु भई बुधबार सकिएको शिविरअन्तर्गत भानु नगरपालिका-१३, ९, १ र ३ मा आँखा शिविर सञ्चालन गरिएको थियो । आँखासम्बन्धी समस्या भएका सर्वसाधारणलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा मोतियाविन्दुको समस्या देखिएका एक सय १० जनाको बुधबार शल्यक्रिया गरिएको नगरपालिका कार्यालयले जनाएको छ । आर्थिक अभावका कारण उपचारबाट वञ्चित स्थानीयवासीका लागि शिविरले राहत दिएको स्थानीय बताउँछन् ।

    भानु-२ नारेश्वटारस्थित भानु सामुदायिक स्वास्थ्य केन्द्रमा समस्या भएकाको शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । नगरपालिका र नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार नेत्र विशेषज्ञ डा मारिया गौतमसहितको टोलीले आँखाको शल्यक्रिया गरेको हो ।

    आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गर्दै प्रत्येक वर्ष शिविर सञ्चालन गर्दै आइएको भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आँखाजस्तो संवेदनशील अङ्गको उपचार समयमा हुन सकेन भने मानिसको जीवनमा प्रत्यक्ष तथा नकारात्मक असर पर्न सक्छ । आँखा समस्या आउनुका अन्य कारण पनि हुनसक्ने भएकाले शिविरमार्फ समस्या पहिचानको पहल गरिएको हो । भानु नगरपालिकाले यही कुरालाई ध्यानमा राख्दै प्रत्येक वर्ष निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि उल्लेख्य सङ्ख्यामा बिरामीले सेवा लिएका छन् ।”

    आँखा परीक्षणका लागि सदरमुकाम दमौली, पोखरा वा चितवन जानुपर्ने बाध्यताको अन्त्यका लागि नगरपालिकाले स्थानीयस्तरमा शिविर सञ्चालन गरी शल्यक्रिया सेवा प्रदान गरिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । “स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । त्यसैले टाढाटाढा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न नगरभित्र विशेषज्ञ सेवा ल्याएका हौँ”, उहाँले भन्नुभयो, “यसले विशेषगरी आर्थिक रूपमा कमजोर तथा ज्येष्ठ नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।”