चैत १९, २०८२ बिहिबार

काठमाडौँ, १९ चैतः दाहाल प्रतिष्ठानले ‘पद्मप्रसाद–कृष्णकुमारी दाहाल सामाजिक सम्मान पुरस्कार-२०८२’ समाजसेवी एवं अभियन्ता रामरिझन यादवलाई प्रदान गर्ने भएको छ । 

    चार दशकभन्दा बढी समयदेखि समाजसेवा, पत्रकारिता, प्राध्यापन, लेखन र अभियानका माध्यमबाट सद्भाव प्रवर्द्धन तथा भाइचारा वृद्धिमा क्रियाशील यादवलाई रु एक लाख एक हजार नगद राशीसहितको पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानका महासचिव सूर्यकुमार दाहालले जानकारी दिनुभयो । 

    विसं २०१६ फागुन १७ गते सिरहाको सन्हैठामा जन्मनुभएका यादवको लेखन तथा सम्पादनमा नेपाली र मैथिली भाषामा वातावरणीय समस्या, समाधान, विज्ञान, वातावरणलगायत आठ वटा कृति प्रकाशित छन् । 

    भाषा र संस्कृति प्रवर्द्धनका लागि अनवरत क्रियाशील वरिष्ठ पत्रकार यादवले नेपाल पत्रकार महासङ्घद्वारा स्वतन्त्रता सेनानी सम्मान, वातावरण पत्रकारिता पुरस्कारलगायत दर्जनौँ सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ । 

    विराटनगर निवासी समाजसेवी बद्रीप्रसाद पहाडी दाहालले आफ्ना मातापिताको स्मृतिमा रु दश लाखको अक्षयकोष स्थापना गर्नुभएको थियो । सोहीबाट प्राप्त ब्याजको रकमबाट यो सम्मान/पुरस्कार प्रदान गर्ने निर्णय गरिएको  कोष सञ्चालक समितिले जनाएको छ ।