चैत १९, २०८२ बिहिबार

काठमाडौँ, १९ चैतः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्न पाउने गरी सहज नियम बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले प्राकृतिक स्रोतसाधनको सरंक्षण गर्दै मुलुक समृद्धिमा यसको सदुपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।

जनचाहनाबमोजिम मुलुकमा सुशासन कायम गरी भ्रष्टचार अन्त्य गर्न सबै लाग्नुपर्ने बताउँदै अध्यक्ष राईले सार्वभौमसत्ता र स्वाभिमानमा प्रतिकुल असर पार्ने कुनै पनि सन्धि सम्झौता खारेज गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सिमाना रक्षाका लागि नेपाली सेना खटाउनुपर्ने, प्रत्यक्ष कार्यकारीको व्यवस्था हुनुपर्ने र त्यसमा आफ्नो पार्टीको साथ रहने उहाँको भनाइ थियो । 

अध्यक्ष राईले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कार्यक्रममा आन्दोलन भड्काउने र दमन गर्ने दोषी पक्षलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले मुलुकमा सुशासन कायम गर्न सबै राजनीतिककर्मी र सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्न, शिक्षालाई उत्पादनसँग जोड्नुपर्ने, एक पालिकामा एक उद्योग, एक घर–एक रोजगारी, बन्द भएका उद्योग सञ्चालन गर्नुपर्ने र नयाँ उद्योग खोल्नुपर्ने माग गर्नुभयो । 

अध्यक्ष राईले वर्तमान सरकारलाई शान्ति सुरक्षाका साथै शिक्षा, स्वास्थ्य, खानेपानीलगायत जनताका आवश्यकताका क्षेत्रमा प्रभावकारी काम गर्न ध्यानाकर्षण गराउनुभयो । विद्यार्थी सङ्गठन खारेजी, ज्येष्ठ नागरिकलाई दिइदै आएको वृद्ध भत्ता वितरणमा नयाँ मापदण्डलगायत सरकारले अघि सारेका विषयमा पुनर्विचार गर्नुपर्ने सुझाव दिँदै घरबारविहीन नागरिकलाई विस्थापन होइन, व्यवस्थापन गर्नुपर्ने उहाँको माग थियो ।