चैत १९, २०८२ बिहिबार

चितवन, १९ चैतः चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ । यही चैत २३ देखि २५ गतेसम्म कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सो सम्मेलन हुने भएको हो ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको कृषि सङ्काय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विभाग र नेपाल मौरीपालक महासङ्घको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो । सम्मेलनका सदस्यसचिव विश्वविद्यालयका उपप्रध्यापक डा केदार देवकोटाका अनुसार तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा चार विधामा ४२ कार्यपत्र प्रस्तुत गरिने छन् । 

    उहाँका अनुसार सम्मेलनमा मौरीपालन, एपी थेरापी, परागसेचन र मौरीसँग सम्बन्धित रोग र किरा व्यवस्थापनको विषयमा कार्यपत्र प्रस्तुतीकरण एवं छलफल हुने छ । सम्मेलनमा नेपालसहित भारत, थाइल्यान्ड, चीन, कोरिया, अमेरिका क्यानाडा, ग्रिस, हङ्गेरी, स्विडेन, स्टोनिया, बङ्गलादेश, श्रीलङ्कालगायतका गरी १९ देशबाट विषयविज्ञ तथा कृषकको सहभागिता रहने जनाइएको छ । 

    सम्मेलनमा मह प्रदर्शनी तथा मेलासमेत आयोजना गरिने छ । जसमा आठ वटा स्टल रहने छन् । सम्मेलनमा हनी बार सञ्चालन गरिने आयोजकको भनाइ छ । नेपालमा पाइने मह चखाउन पनि बार सञ्चालन गर्न लागिएको हो ।