काठमाडौँ, १९ चैतः साहित्यिक पत्रकार सङ्घले आज ४५औँ कथा दिवसका अवसरमा विभिन्न विधाका साहित्यिक सर्जकहरुलाई एक कार्यक्रमबीच सम्मान एवं पुरस्कार वितरण गरेको छ ।
सो अवसरमा भवानी साहित्यिक पत्रकारिता सम्मानबाट साहित्यिक पत्रकार रमेश पोखरेल (कार्यकारी सम्पादक, शब्द संयोजन मासिक), साहित्यिक पत्रकार प्रवीण जोशी (शृङ्खला साहित्यिक मासिकका सम्पादक÷प्रकाशक), लोकप्रिया पुरस्कारबाट साहित्यकार प्रतिसरा सायमि, व्यथित काव्य सम्मानबाट कविहरू विमला तुम्खेवा र मीनकुमार श्रेष्ठ ‘नवोदित’ तथा व्यथित काव्य डायस्पोरा सम्मानबाट लालगोपाल सुवेदी र दीपा राईलाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ कलाकार के के कर्माचार्यले सम्मान र पुरस्कार समर्पण गर्नुभएको थियो । सम्मानित सर्जकहरुले नेपाली साहित्यिक क्षेत्रमा ठूलो योगदान दिनुभएको उहाँले बताउनुभयो । कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ समालोचक प्रमोद प्रधान, वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, पुरस्कृत सर्जकहरू रमेश पोखरेल, प्रवीण जोशी, प्रतिसरा सायमि, विमला तुम्खेवा र मीनकुमार श्रेष्ठ ‘नवोदित’ले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा सम्मानित र पुरस्कृत स्रष्टाहरूको परिचय दिनुभएको थियो ।